तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पा नगरपालिकाले मिल्क करीडोर बनाउँदै

रोल्पा । रोल्पा नगरपालिकाले किसान र कृषकलाई मध्यनजर गरेर प्रमुख प्राथमिकतामा राखेर मिल्क कोरिडोर बनाउँदै छ । लिबाङ बजारलाई केन्द्र बिन्दुमा राखेर पूर्वको खुमेलदेखि पश्चिम कोटगाउ सम्मको गाउँलाई दूध सङ्कलनको लागि मिल्क करीडोर बनाउँदै छ । 

किसानलाई आत्मनिर्भर बनाउने अभियानस्वरुप विभिन्न प्याकेजहरू अघि सारिरहेको नगरपालिकाले यो आर्थिक वर्ष २०८०/०८१ मा शुरुवात गर्न लागेको मिल्क करिडोर छिट्टै सञ्चालनमा ल्याउने तयारीमा रहेको नगरपालिकाले दूध सङ्कलन केन्द्रमा दूध सङ्कलन हुने र बजारमा खपत हुन नसकेको दूध जिल्ला बाहिर निर्यात गर्ने तयारीमा लागेको रोल्पा नगरपालिकाले बताएको छ ।

रोल्पा नगरपालिका नगर प्रमुख सुरेन्द्र थापा घर्तीले बाह्रै महीना यातायातका साधन चल्ने रोल्पा नगर पालिकाको वडा नम्बर १ को बामरुक, २ को रेउघा र ७ को माडीचौर, कोटगाउलाई छोएर मिल्क कोरिडोरको बाटो बनाउन लागेको र वडा नम्बर ३ को खुमेल, सातदोवाटो तथा वडा नम्बर ४ को लिबाङ गुरुङगाउलाई पनि समेटिने बताउनुभयो ।

नगरपालिकाको वडा नम्बर १, २, ६ र ७ का किसानलाई ५० प्रतिशत अनुदानमा यसपटक जर्सी गाई वितरण गर्ने तयारी नगरपालिकाले गरेको छ भने अघिल्ला आर्थिक वर्षहरुमा ५० प्रतिशत अनुदानमा वडा नम्बर ३ र ४ का किसानलाई मुर्रा भैँसी वितरण गरिरहेको छ ।

नगरपालिकाको दूध सङ्कलन केन्द्र डेरीमा गुणस्तरीय दूध ल्याउने किसानहरूलाई  प्रोत्साहनस्वरुप १ लिटर दूधमा ५ रुपैयाँ बोनस दिने गरेको छ त्यसैगरी नगरपालिकाको तरकारी हाटबजारमा ल्याउने कृषकहरूलाई पनि प्रतिकिलो ५ रुपैयाँ बोनस दिने र उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने योजना नगरपालिकाको छ ।

कोल्डस्टोर निर्माण गर्ने, कृषि एम्बुलेन्स खरिद गर्ने, दानामा अनुदान दिने लगायतका कृषकको जीवनस्तरमाथि उठाउने महत्वकाक्षी कार्यक्रमहरू रोल्पा नगरपालिकाले अघि सारेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button