तपाईँ सुन्दै हुनुहुन्छः

समाजको आवश्यकता र भू–धरातललाई आधार बनाएर सोह्रौँ योजना तर्जुमा गर्न सांसदहरूको जोड

काठमाडौँ । दिगो विकासका लक्ष्यहरू हासिल गर्न समाजको आवश्यकता र भू धरातललाई आधार बनाएर सोह्रौँ योजना तर्जुमा  गर्नुपर्नेमा सांसद्हरुले जोड दिनुभएको छ ।

राष्ट्रिय सभा, दिगो विकास तथा सुशासन समितिको सोह्रौँ योजनाको अवधारणा पत्र  र योजनामा दिगो विकास लक्ष्यको अन्तर आबद्धता सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा सांसद्हरुले  नेपालको भू धरातल र सामाजिक आवश्यकताका आधारमा योजनाका लक्ष्यहरू निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुले दिगो विकासका लक्ष्यहरूलाई स्थानीयकरण, असमानता अन्त्य र स्रोत साधनको वितरण समन्यायिक  हुने गरी कार्ययोजना बनाए मात्र दिगो विकासका लक्ष्यहरू प्राप्तिमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सोह्रौँ योजनाको अवधारणा पत्रले सुशासन , सामाजिक न्याय र समृद्धिको सोच राखेकोले सबै वर्ग, क्षेत्र र समुदायको सशक्तिकरण र समुचित प्रतिनिधित्व कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

डा.श्रेष्ठले दिगो विकास,आयोगको प्राथमिकतामा रहेको भन्दै  सोह्रौँ योजनामा यस सम्बन्धमा छुट्टै परिच्छेद रहने बताउनुभयो । डा. श्रेष्ठले अवधारणा पत्रका आधारमा  सोह्रौँ योजना बन्ने भएकाले  अवधारणा माथि आवश्यक सुझाव सल्लाह दिन पनि आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button