राज्यका अङ्गहरूले जनताको पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस् : प्रधानमन्त्री

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणको तयारी सम्बन्धी कामको जानकारी गराएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं कार्यतालिकाबारे ब्रिफिङ गर्नुभएको थियो।
कार्यालयले तीन चरणको कार्यतालिका बनाएर देशभरिका सरकारी कार्यालयहरूको लेखापरीक्षण गर्ने जानकारी गराएको छ । लेखापरीक्षणका लागि उपसचिवस्तरको अडिटर र अधिकृतस्तरका लेखापरीक्षकहरू खटिने कार्यालयले जनाएको छ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सरकार सुशासन, वित्तीय अनुशासन र पारदर्शितामा गम्भीर रूपमा लागेको बताउँदै राज्यका सबै अङ्गले जनताको विश्वास आर्जन गर्नेगरि काम गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्रीले यो वर्ष सुशासन र पारदर्शिताका दृष्टिले महत्वपूर्ण वर्ष बनाउन आग्रह गर्दै सोका लागि सरकारले खेल्नुपर्ने भूमिकाप्रति आफू संवेदनशील रहेकोसमेत बताउनुभयो।
प्रधानमन्त्रीले भन्नुभयो, “हामी सामाजिक न्याय, सुशासन र समृद्धिको महान् अभियानमा छौँ। सुशासन, वित्तीय अनुशासन र पारदर्शिता त्यसका लागि महत्वपूर्ण शर्त हो। तर, आम जनतामा राज्य र राज्यका विभिन्न अङ्गप्रतिको विश्वास कमजोर भएको बेला छ। इमान्दारिता र पारदर्शिताको तह घटेर तल गएको छ। यो स्थितिलाई बदल्नै पर्छ। विश्वसनीयता कसरी कायम गर्ने, पारदर्शिता कसरी गराउने, सुशासन कसरी कायम गर्ने भन्नेबारे हामीले गम्भीर रूपमा सोच्नुपर्दछ।”
“राज्यका अङ्गहरू जिम्मेवार नभइकन सुशासन, पारदर्शिता र जबाफदेहितामा अपेक्षित प्रगति हासिल गर्न सकिँदैन” प्रधानमन्त्रीले भन्नुभयो, “तपाईँहरूले जसरी यो वर्ष विगतभन्दा प्रभावकारी लेखापरीक्षणको योजना बनाउनुभएको छ, त्यसमा सफलता मिल्नेछ भन्ने मेरो विश्वास छ।”






प्रतिक्रिया राख्नुहोस्