तपाईँ सुन्दै हुनुहुन्छः

छायाँनाथ राराको ‘एक रुख दश मुख’ अभियान

मुगु । देशको बढ्दो जनसङ्ख्या वृद्धिले वन जङ्गलको नोक्सानीका हुनुका साथै जलवायु परिवर्तनको असर मुगु लगायत हिमाली भेगमा पर्न थालेपछि त्यसबाट हुने क्षति न्यूनीकरण गर्न मुगुको छायाँनाथ रारा नगरपालिकाले ‘एक रुख दश मुख’ अभियान शुरु गरेको छ ।

नगर प्रमुख बिष्णु कुमार भामका अनुसार छायाँनाथ रारा नगरपालिका भित्रका ४६ वटै सामुदायिक विद्यालय, स्वास्थ्य चौकी लगायत अन्य नगरपालिका मातहतका कार्यालयहरूले कार्यालय हाताभित्र कम्तीमा १० वटा रुख अनिवार्य रोप्न परिपत्र गरिसकिएको र धेरै जसो कार्यालयले बैँस, ओखर, उत्तिस, पिपल का बोटहरू रोपिसकेको नगर प्रमुख भामले बताउनुभयो ।

हरेक घरले परिवार सङ्ख्या अनुसार प्रति सदस्य अनिवार्य कम्तीमा १० रुख रोप्नै पर्ने नीति अघि सारिएको भामले जानकारी दिनुभयो ।

अभियान सफल बनाउन नगरवासी सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने र खाली जग्गामा बिरुवा अनिवार्य रोप्नुपर्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले बताउनुभयो ।

नगरपालिका भित्रका सबै वडा, बस्ती, विद्यालय, स्वास्थ्य चौकी लगायत गमगढी बजार लाई सुन्दर, हरियाली र हराभरा बनाउन र जलवायु परिवर्तन का कारण बेसिजनमा अधिक मात्रामा पानी परेर गत वर्षको असोज महिनामा बाढी पैरोले गरेको धन जनको क्षतिलाई मध्यनजरमा राख्दै सम्भावित बाढी पहिरो जान सक्ने जोखिमयुक्त ठाउँमा हुने सम्भावित दुर्घटना न्यूनीकरण गर्न ‘एक मुख दश रुख’ अभियान थालिएको नगर प्रमुख भामको भनाई छ ।

विकास निर्माणमा सबै सरकारको मात्र मुख ताक्नु हुँदैन, सानातिना कामहरू आफैले श्रमदान गरेर समस्याको समाधान गर्नुपर्छ भनने स्वभावका नगर प्रमुख भाम नेपालकै कान्छो नगर प्रमुख हुन् । उमेरले ३० काटेका नगर प्रमुख भाम विकास निर्माणका काममा अत्यन्तै सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button