जुम्लाबाट ४ वर्षमा ७९७ टन जडीबुटी निर्यात, डेढ करोड राजश्व सङ्कलन

जुम्ला । जुम्लाबाट मात्रै बितेको चार वर्षमा झण्डै ८ सय टन जडीबुटी निर्यात भएको छ । डिभिजन वन कार्यालय जुम्लाको चार वर्षको तथ्याङ्क अनुसार आव २०७६/७७ देखि आव ०७९/८० सम्मको तथ्याङ्कलाई हेर्दा जुम्लाबाट ७ सय ९७ टन ५५ क्वीईन्टल जडीबुटी जुम्लाबाट निर्यात भएको देखिन्छ ।
जसअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा १ सय ८५ टन ३७ क्वीईन्टल जडीबुटी निर्यात भएको थियो । भने आव ०७७/७८ मा २ सय २ टन जडीबुटी निर्यात भएको डिभिजन वन कार्यालय जुम्लाका सूचना अधिकारी खड्क बहादुर महतले बताउनुभयो ।
त्यस्तै आव ०७८/७९ मा भने १ टनले घटेर मा २ सय १ टन जुम्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात भयो । भने गत आव ०७९/८० अहिले सम्मकै धेरै मात्रामा २ सय ९ टन १९ क्वीईन्टल जडीबुटी निर्यात भएको सूचना अधिकारी महतले जानकारी दिनुभयो ।
विगत दुई वर्षमा कोरोनाका कारण जडीबुटी त्यति धेरै सङ्कलन नभएको कारणले पछि आव ०७९÷८० मा उत्साहजनक रुपमा जडीबुटी निर्यात भएको हो । चार वर्षमा ७ सय ९७ टन ५५ क्वीईन्टल जडीबुटी निर्यात हुँदा जुम्लामा कति आर्थिक भित्रियो भन्ने तथ्याङ्क कतै छैन ।
किनकि, मूल्य एकरूपता छैन । व्यापारीहरूले किसानसँग समझदारीमै कतै बढी कतै कम दिएर जडीबुटी खरिद गर्छन् । वन कार्यालयले जडिबुटिको मात्राअनुसार निर्यातका लागि राजश्व सङ्कलन गर्ने तर कति रुपैयाँ बराबरको निर्यात भयो भन्ने तथ्याङ्क आफूसँग नहुने डिभिजन वन कार्यालयका जुम्लाका प्रमुख दिनेशजंग शाहीले बताउनुभयो । उहाँका अनुसार जडीबुटी कर्णाली समृद्धिको स्रोत भएकोले यसको संरक्षण र कर्णालीमै प्रशोधन गर्न ध्यान दिनु जरुरी छ ।
जुम्लाबाट सबैभन्दा बढी धुपी, सचेक चिनी, तीतेपाती बढी मात्रामा निर्यात हुने गरेको छ । भने अन्य चिराइतो, सुनपानी, पाखनबेद, सुगन्धवाल, विषजरा, बोझो, अतिस, पदमचाल, गुच्ची च्याउ, अमलवेद, रातो च्याउ, वन लसुन लगायत २२ प्रकारका जडीबुटी निर्यात हुने गरेका छन् ।
१ करोड ४१ लाख राजश्व सङ्कलन
जडीबुटी विक्रीबाट जुम्लाका किसानले एकिन कति कमाए, जिल्लामा कति आर्थिक भित्रियो भन्ने तथ्य विवरण नभएपनि जडीबुटी सङ्कलन तथा निर्यात र काठको गरी बितेको चार वर्षमा झण्डै डेढ करोड राजश्व सङ्कलन भएको छ ।
डिभिजन वन कार्यालय जुम्लाको विवरण अनुसार चार वर्षमा जडीबुटी निर्यातबाट १ करोड ४१ लख ३५ हजार ८ सय रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
जसमा आव २०७६/७७ मा ३२ लाख ५ हजार, आव ०७७/७८ मा २९ लाख ७४ हजार ४ सय ४० रुपैयाँ राजश्व सङ्कलन भएको थियो । त्यस्तै, आव ०७८/७९ मा २०१ टन जडीबुटीी निर्यात बापत ३५ लाख ५८ हजार ८ सय ५० र गत आर्थिक वर्ष २०७९/८० मा २ सय ९ टन जडीबुटी निर्यात बापत ४६ लाख ९६ हजार ९ सय ४३ रुपैयाँ राजश्व सङ्कलन भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खड्क बहादुर महतले जानकारी दिनुभयो ।
विभिन्न २२ प्रकारका बहुमूल्य जडीबुटी जुम्लामा पाईने भएपनि नीतिगत अप्ठ्यारा,उचित मूल्य नपाउनु,असहज बजार नीतिका बीच पनि जडिबुटिको व्यापार सिजनअनुसार फस्टाउँदै गएको छ । जडिबुटिको सङ्कलन निर्यात तथा सहज बजारीकरणका लागि तीनै तहका सरकारले दोहोरोपन नहुने नीति तथा प्रदेश स्तरमै ठुलो लगानीको प्रशोधन उद्योग स्थापना गर्न जुडिबुटि व्यापारीको माग छ ।
जुम्लाको पातारासी र गुठिचौर गाउँपालिकाका नागरिकको आम्दानीको स्रोत नै जडीबुटी सङ्कलन र विक्री हो । कर्णालीको जडीबुटी विशेष गरी दक्षिणमा भारत र उत्तरमा चीनसँग बढी निर्यात हुने गर्छ । बितेका दुई वर्षमा जडीबुटी सङ्कलन राम्रो भएपनि कोरोनाका कारण चीन र भारताका नाका बन्द भएपछि किसान कौडीको भाउमा जडीबुटी बेच्न बाध्य भए । पछिल्लो वर्षमा भने जडीबुटीबाट किसानले राम्रै लाभ लिने देखिन्छ ।
जडिबुटिको संरक्षण,व्यवस्थित सङ्कलन,उपयुक्त मूल्य र बजारीकरणमा राज्यले नीति बनाएको खण्डमा कर्णालीको आर्थिक समृद्धि र जीविकोपार्जनको जडीबुटीबाटै सम्भव रहेको उद्योग वाणिज्य संघका अध्यक्ष पुरीचन्द्र देवकोटा बताउनुहुन्छ । उहाँका अनुसार पछिल्ला वर्ष जडिबुटिको संरक्षणमै चुनौती छ । जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामध्ये तातोपानी, गुठिचौर र पातारासी गाउँपालिकाका विभिन्न पाटनमा सबै भन्दा धेरै जडीबुटी पाइन्छ ।








प्रतिक्रिया राख्नुहोस्