प्रत्येक महिना प्रगति विवरण पेश गर्न मन्त्री शर्माको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रत्येक महिनामा कामको प्रगति विवरण मन्त्रालयमा पेश गर्न मातहतका निकायहरूलाई निर्देशन दिनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्बद्ध निकायको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधानको आजको बैठकमा मन्त्री शर्माले अब देखि हरेक महिना गरेका कामहरूको विवरण मन्त्रालयमा पेश गर्न मातहतका निकायहरूलाई निर्देशन दिनुभयो ।

मन्त्री शर्माले महत्त्वाकाङ्क्षी लक्ष्य लिएर कार्यान्वयन हुन सकेन भन्नु भन्दा व्यवहारिक र कार्यान्वयन योग्य लक्ष्यहरू निर्धारण गर्नुपर्ने बताउनुभयो ।
मन्त्री शर्माले सूचना प्रविधिमा भएको तीव्र विकासले रोजगारी सिर्जनासँगै राजस्व सङ्कलन मार्फत आर्थिक उन्नयनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री शर्माले नतिजामुखी र गुनासोरहित सेवा प्रवाहका लागि सबैले आत्मरक्षा गरेर कमीकमजोरी सुधार गर्नु पर्ने धारणा राख्नुभयो ।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. अनिता शाह (ढुङ्गाना)ले मन्त्रालय स्तरीय विकास समस्या समाधानको बैठकले गरेका निर्णयहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

डा. शाहले मन्त्रालयले लिएका लक्ष्य प्राप्तिका लागि कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि र सूचना प्रविधिको प्रयोगलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने धारणा राख्नुभयो ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सम्बद्ध सबै निकायहरूले स्व मूल्याङ्कन गरी कमीकमजोरी सुधार गर्नुपर्ने बताउनुभयो ।

सचिव राउतले कतिपय विधेयक, नीति, र नियमावलीका कारण पनि पूँजीगत खर्च हुन नसकेको भन्दै आवश्यक ऐन, नीति, नियमको निर्माण र समयानुकूल सुधारको आवश्यकता औँल्याउनुभयो ।

सो अवसरमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालय र मातहतका निकायहरूको आर्थिक वर्ष २०७९/०८० को चौथो त्रैमासिक प्रगति एवं वार्षिक प्रगति समीक्षाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्