जमिन भासिएसँगै भत्किन थाले घर, १ सय ३० परिवार विस्थापितको जोखिममा

बाजुरा । बाजुराको बजेडिमा पहिरोका कारण जमिन भासिए सँगै घरहरू भत्किन थालेका छन्।निरन्तरको वर्षा सँगै पहिरो जाने क्रम नरोकिएपछि बजेडी गाउँका १ सय ३० परिवार विस्थापितको जोखिम बढेको छ।
बर्षातमा पहिरो बग्न थालेको ४ दशक बित्यो । तर बस्ती व्यवस्थापनका लागि विकल्पको खोजी अहिलेसम्म पनि हुन सकेको छैन । स्थानीयले बेला बेला सुरक्षित बासका लागि माग गरिरहेका भए पनि राज्य बाट ठोस् पहल हुन सकिरहेको छैन।
वि.स. २०४० सालमा बुढीगंगा नगरपालिका २ बजेडीमा पहिलो पटक पहिरो बग्न थालेको हो । बीचमा केही समय पहिरो रोकिए जस्तै भयो । फेरि २०५० पछि गुइगाड खोलाको कटानले बजेडी, गुईवन, गुम्लागाउँलाई नै असर पार्ने गरि फेरि पहिरो बग्न थाल्यो । जो अहिलेसम्म पनि बग्ने क्रम रोकिएको छैन। जमिनको सतह पुरै बसिसकेको छ । कतै २ मिटर कतै १ मिटरसम्म जमिनको सतह भासिएपछि घर चर्किने र भत्किने क्रम बढेको स्थानीय मनीराज जैशीले बताउनु भयो। बजेडीमा करिब १ सय ३० परिवारको बसोबास छ । २५ बढी जति परिवार पूर्ण रुपमा विस्थापित भएर तराईतिर बसाइ सरिसकेका छन् ।
सिङ्गो बजेडि बस्तीको खेती योग्य जमिन चिरा चिरा परेको छ । बस्ने घर चर्किएका छन् । केहीका भत्किसकेका छन् । एकसाता यता मात्र १३ बढी घर भत्किएको बुढीगंगा नगरपालिकामा रेकर्ड पुगेको छ ।
घर हेर्दा चर्किएका छन् । बस्न लायक छैनन् । जमिन पुरै भासिएको छ । पानी नपरेको दिन छैन । छेउमै गुइवन, गुम्लागाउँ र बजेडीको वर्षौँ पुरानो पहिरो बगिरहेको देखिन्छ । घर भत्किदा खरछाना बनाएर, पाल टाँगेर बस्न हुन्थ्यो, बर्खा कटाउन सास्ती भएपनि मुस्किल हुने थिएन्, सिङ्गो बस्ती बसेको जमिन नै जुनसुकै बेलापनि पहिरोसँगै मिसिने अवस्था छ, जीउ जोगाउने ठाउँ समेत नभएको स्थानीय पीडित जोगी ल्वारले गुनासो पोख्नुभयो । ल्वारको परिवार तीन दिन देखि खर छानामा बसिरहेका छन् ।
बजेडी गाउँमा बसोबास गर्ने मध्ये ६० प्रतिशत घर पूर्ण रुपमा चर्किएको अवस्था छ । २० बढी परिवार घर भत्किएरै विस्थापित बनेका छन् । नचर्किएका घरमा पनि घरको आँगन भांसिसकिएकोले ढिलो चाँडो भत्किने अवस्था रहेको बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले बताउनु भयो। बाँनीया नेतृत्वमा उपप्रमुख माया कुँवर, समन्वय समिति सदस्य हिक्मत थापा सहितको टोलीले सिङ्गो बस्तीको अनुगमन गरेको छ।
मान्छे बस्न उपयुक्त नदेखिएको र पहिले देखि नै बस्ती सार्नु पर्ने माग उठेकोले पालिकाको तर्फबाट अनुगमन गरिएको नगर प्रमुख रामबहादुर बानियाँले बताउनु भयो । स्थानीयले ९८ घर परिवारको विस्थापित हुने सूची सहित नगरपालिकामा निवेदन दिएका छन् । अनुगमन टोलीले घर भत्किएका, चर्किएका, जमिन भासिएका र पहिरोले पहिले देखि नै भत्काएर क्षति सहन बाध्य सबैको हकमा बस्ती विकासको अवधारणलाई अघि सार्ने लक्ष्य सहित पालिकाले काम गर्ने जनाएको छ।
बाजुराका ठूलो पहिरो र बस्ती क्षति भएको अवस्था हेर्दा बजेडी गाउँ पनि शीर्ष १० गाउँमा पर्ने गरेको छ । पानीका मुहान भासिएका छन् । खानेपानीको संकट छ । बजेडी बासीको दैनिक जीवन सास्तीपूर्ण रहेको छ। गाउँमा रहेको विद्यालय समेत पहिरोकै डरले नियमित सञ्चालन हुने अवस्था छैन। त्यहाँबाट बस्ती सार्नु वा अर्को सुरक्षित स्थान खोजेर व्यवस्थापन गर्नु बाहेक विकल्प नरहेको बुढिगंगा नगरपालिकाकी नगर उपप्रमुख माया कँवरले भन्नुभयो ।
भूगर्भ विद्धहरूले पनि बजेडीमा बस्ती बसाउनै नहुने बताएका छन् । जिल्ला विपद व्यवस्थापन समितिले पनि उच्च जोखिम भएको गाउँको सूचीमा राखेको छ । जोखिम नघट्ने निष्कर्ष सहित सार्नका लागि पनि जिल्ला प्रतिकार्य योजनामा उल्लेख गरिएको छ । बाजुराका बजेडि सहित करिब १ सय १६ बस्ती जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताउनु भयो ।
अभाव समस्या र बिचल्लीमा पनि कोही नभए जस्तो, राज्यका नागरिकको जस्तो व्यवहार र संरक्षण नपाएको स्थानीयको सामूहिक गुनासो छ । स्थानीयले आपसमा बसेर गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा सार्ने निर्णय गरिए स्वीकार्य हुने सहमति नै गरिसकेका छन् । समयमै सचेत र जिम्मेवार नभए बस्ती नै नरहने र सिङ्गो जमिनको सतह नै पहिरोमा परिणत हुने अवस्थाको नजिक बजेडी गाउँ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्