झापामा डेंगुको प्रकोप बढ्दो : औषधि व्यवसायीसहित तीन जनाको मृत्यु
भद्रपुर, झापा । साउनयता तीव्र रूपमा फैलिरहेको डेंगी सङ्क्रमणबाट झापामा एक जना औषधि व्यवसायीसहित तीन जनाको मृत्यु भइसकेको छ ।
डेंगीको सङ्क्रमण बढी देखिएको बिर्तामोडमा दुई र दमकमा एक जनाको डेंगी सङ्क्रमणबाट मृत्यु भएको हो ।
साउनको पहिलो साता बिर्तामोड– ५ की ४४ वर्षीया मदिना खातुनको डेंगी सङ्क्रमणबाट मृत्यु भएको थियो । डेंगी पुष्टि भएको भोलिपल्ट उनको मृत्यु भएको थियो ।
त्यस्तै साउन १९ गते डेंगी सङ्क्रमणबाट बिर्तामोड ५ कै ४४ वर्षीय रबिचन्द्र लावतीको मृत्यु भयो भने दमकमा पञ्चमुखी फर्मा सञ्चालन गर्दै आएका औषधि व्यवसायी ६८ वर्षीय ऋषिराज पराजुलीको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो ।
झापामा सङ्क्रमितहरू तीव्र रूपमा बढ्ने क्रममा साउन २६ गतेसम्म सङ्क्रमितको सङ्ख्या ७३९ पुगेको छ । ३१९ महिला र ४२० जना पुरुष सङ्क्रमित भएका हुन् । त्यसमध्ये सबैभन्दा बढी सङ्क्रमित दमकमा देखिएका छन् । दमकमा ४४४ जना सङ्क्रमित पुगेका छन् । त्यसपछि बिर्तामोडमा सङ्क्रमितको सङ्ख्या १७७ पुगेको छ ।
जिल्लाको सदरमुकाम भद्रपुरलगायत बुद्ध शान्ति, मेचीनगरमा डेंगी सङ्क्रमण देखिएको छ । ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा डेंगी बढी फैलिएको छ ।
गौरीगञ्ज, बाह्रदशी, हल्दिवारी र कचनकवलमा भने हालसम्म डेंगी सङ्क्रमण नदेखिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताउनुभयो ।
जिल्लाका विभिन्न अस्पतालमा १४० जना डेंगी सङ्क्रमित भर्ना भएका छन् । त्यसमध्ये ९९ जना निको भएर घर फर्किएको र ४१ जना उपचाररत रहेको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्