तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा डेङ्गु सङ्क्रमणबाट एक युवकको मृत्यु

मकवानपुर । हेटौँडामा डेङ्गु सङ्क्रमणका कारण एक युवकको मृत्यु भएको छ । हेटौँडा–१२, पदम पोखरीका ४१ वर्षीय राजेश प्रधानको डेङ्गु सङ्क्रमणका कारण मृत्यु भएको हो ।

हेटौँडास्थित सन्चो अस्पतालमा ३ दिनअघि परीक्षण गराउँदा प्रधानमा डेङ्गु संक्रमण पुष्टि भएको थियो । डेङ्गु सङ्क्रमणपछि घरमै आराम गर्ने भनेर गएका प्रधान मङ्गलवार पुन अस्पताल भर्ना भएका थिए । बुधबार थप उपचारका लागि भरतपुर गएका प्रधानको बिहीबार उपचारको क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । प्रधानलाई दोस्रो पटक डेङ्गु संक्रमण पुष्टि भएको थियो ।

मकवानपुर जिल्लामा साउन १ गतेयता ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस अवधिमा हेटौँडा उपमहानगरपालिका भित्र ५४ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा उपमहानगरपालिकाभित्र साउन महिनामा २८ जना पुरुष र २६ जना महिलामा डेंगु देखिएको कार्यालयले जनाएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा मात्रै १२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले बिहीबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार संक्रमण पुष्टि हुने १२ जना नै हेटौँडा उपमहानगरपालिका भित्रका रहेका छन् । यस्तै, हेटौँडा अस्पतालमा बिहीबार २७ जनाले डेंगु जाँच गराएका मध्ये ४ जनामा डेंगु देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button