तपाईँ सुन्दै हुनुहुन्छः

दुई अर्बको लागतमा बैजनाथपुरमा क्रिकेट रङ्गशाला बन्छ : मन्त्री लिम्बू

विराटनगर । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माण हुने कुरामा विश्वस्त रहन आग्रह गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले अहिले रङ्गशालाका निम्ति रु तीन करोड बजेट विनियोजन भएको र यसको डिपिआर तयार भइसकेपछि रु दुई अर्ब लागतमा दुई वर्षभित्र अत्याधुनिक रङ्गशाला निर्माण हुने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा गिरिजाप्रसाद कोइरालाको नाममा बन्न लागेको रङ्गशालामा बजेट थोरै भयो भनेर आलोचना नगर्न आग्रह गर्दै मन्त्री लिम्बूले रङ्गशालामा लाग्ने बजेट विनियोजन हुने र रंगशाला बन्ने बताउनुभयो ।

मन्त्री लिम्बूले भन्नुभयो, “क्रिकेट मैदान, स्विमिङ पुल, कभर्डहल, फुटबल मैदानसमेत निर्माण गर्ने भएकाले बैजनाथपुरको रङ्गशाला खास किसिमको हुने छ ।” मन्त्री लिम्बूले बैजनाथपुरमा रङ्गशाला बन्दा त्यो क्षेत्रका मानिसको रोजगारी बढ्ने र जमिनको मूल्य बढ्नाका साथै मानिसको जीवन स्तरमा पनि सुधार आउने बताउनुभयो । 

चीनमा हुने एसियाली खेलकुदमा भाग लिन नेपाली खेलाडीहरू प्रशिक्षणमा रहेको र सबैले आशा गरे जस्तै आफूले पनि त्यहाँबाट खेलाडीले पदक जित्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button