नवलपरासीमा २४५ उद्योग व्यवसाय बन्द,बन्द हुनेमा कृषि र वनजन्य उद्योग बढी
नवलपरासी।देशको अर्थतन्त्र चलायमान नहुनु र भएका उद्योग,व्यवसायमा लगा निको सुरक्षाको वातावरण नहुनुले पश्चिम् नवलपरासीमा पनि उद्योगहरू दिनप्रतिदिन बन्द हुँदै गइरहेका छन् ।गएको आर्थिक वर्षमा समेत अन्य आर्थिक वर्षको तुलनामा नयाँ उद्योग दर्तामा कमी आएको देखिन्छ ।
पश्चिम् नवपरासीमा २४५ उद्योग व्यवसाय बन्द भएका छन् । बन्द भएका उद्योगमा वाणिज्यतर्फका १३३ र उद्योगतर्फका ११२ रहेका छन् । सबैभन्दा बढी वाणिज्यतर्फका १३३ वटै व्यक्तिगत व्यवसाय रहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
उद्योगतर्फ सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग ४५ र सेवामूलक उद्योग ४५ वटा बन्द भएको कार्यालय प्रमुख गंगाधर पाण्डेयले जानकारी दिनुभयो । त्यस्तै उद्योगतर्फ बन्द हुनेमा २० उत्पादन मूलक र २ पर्यटन उद्योग रहेका छन् । अघिल्लो वर्षको तुलनामा आ.व. २०७९/०८० मा नयाँ उद्योग व्यवसाय दर्तासमेत कमी आएको छ ।
अघिल्लो वर्ष १४०५ उद्योग दर्ता भएकोमा गत वर्ष ५२७ नयाँ उद्योग दर्ता भएका छन् । जिल्लामा ६ हजार ६९३ साना र ५८ लघु गरी कुल ७ हजार ७५१ उद्योग रहेको कार्यालय प्रमुख पाण्डेयले जानकारी दिनुभयो । दर्ता भएका उद्योगमा कृषि तथा वन पैदावरमा आधारित रहेको कार्यालयले जनाएको छ ।
उद्योग बन्द हुनु र नयाँ उद्योग दर्ता नहुनुमा आर्थिक मन्दी, युवाहरू विदेश पलायन प्रमुख कारण रहेको कार्यालय प्रमुख पाण्डेयको भनाई छ । “अघिल्लो वर्ष प्रदेश सरकारले उद्योग दर्तामा लाग्ने शुल्कमा छुट दिएको थियो । अहिले छैन ।
त्यस कारण पनि दर्तामा कमी आएको हुन सक्छ “पाण्डेले भन्नू भयो। कृषि तथा अन्य उद्योग व्यवसायमा युवाहरूको आकर्षण बढेपनी व्यावसायिक सुरक्षाको प्रत्याभूति नहुँदा पेशा,व्यवसाय दीर्घकालीन रुपमा अगाडि बढेको देखिँदैन ।








प्रतिक्रिया राख्नुहोस्