महिला कर्मचारीलाई पूर्ण स्तनपानमा चुनौती
शिशु स्याहार केन्द्रले दियो सिंहदरबारका महिला कर्मचारीलाई राहत
काठमाडौँ । विभिन्न कार्यालयमा काम गर्ने महिला कर्मचारीका लागि पूर्ण स्तनपान गराउनु चुनौती बनेको छ ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र, सिंहदरबारमा भने दिवा शिशु स्याहार केन्द्र स्थापना भएपछि महिला कर्मचारीलाई शिशु हेरचाह गर्न र स्तनपानका लागि सजिलो भएको छ ।
सिंहदरबारमा कार्यरत कर्मचारी महिलाहरूलाई बच्चाको हेरचार गर्न सजिलो र बच्चाको स्तनपानको अधिकार सुनिश्चित गर्न २०६७ सालदेखि निजामती कर्मचारी श्रीमती सङ्घद्वारा दिवा शिशु स्याहार केन्द्र सञ्चालित छ ।
महिला खरिदारदेखि सचिवसम्मले शिशु स्याहार केन्द्रमा आफ्ना बच्चा राखेर ढुक्कसँग काम गर्न पाउनुहुन्छ ।
धेरै महिला कर्मचारीहरूले आफु गर्भवती भएदेखि नै सो शिशु स्याहार केन्द्रमा नाम लेखाउनुहुन्छ ।
सरकारले थप भवनको व्यवस्था गरिदिए निजामतीबाहेक अन्य कार्यालय तथा करारका कर्मचारीका पनि शिशुहरूको हेरचाह गर्न सकिने दिवा शिशु स्याहार केन्द्रकी व्यवस्थापक शान्त थापा बताउनुहुन्छ ।
सिंहदरबारमा कार्यरत महिला कर्मचारीहरूलाई जतिबेला पनि आफ्नो बच्चालाई आएर स्तनपान गराउन सजिलो भएको व्यवस्थापक थापाले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ ‘खुवाउन नपाएपछि आमाको दूध गानिने समस्या हुन्छ, आमाहरूलाई तनाव हुन्छ तर अब महिला कर्मचारीहरू कार्यालय समयमा भाग्नुपर्ने बाध्यताको अन्त्य भएको छ, जतिबेला पनि यहाँ आएर दूध खुवाउन सक्नुहुन्छ ।’
उहाँले कतिपय निजामती कर्मचारी महिलाहरूले बच्चालाई शिशु स्याहार केन्द्रमा राखेर माथिल्लो तहको लोकसेवा परीक्षा पनि पास गर्नुभएको बताउनुभयो ।
व्यवस्थापक थापा भन्नुहुन्छ ‘धेरै महिला कर्मचारीहरूले ठाउँ नभएका कारण बच्चा राख्न पाउनुभएको छैन, यस्तो अवस्थामा हामीलाई नराम्रो लाग्छ, ठाउँको थप व्यवस्थापन भए बच्चाको सङ्ख्या पनि थप्ने थियौ ।’
उहाँ भन्नुहुन्छ ‘धेरै निजामती कर्मचारी अविभावकहरुले चार वर्षसम्मका बालबालिका पनि राख्न माग गर्नुहुन्छ तर उहाँहरू आफै जिम्मेवार निकायमा हुनुभएकाले थप भवन, जनशक्ति , कार्यविधि संशोधन लगायतका काम गर्न पहल गर्नुभए यो सम्भव हुने थियो’ ।
प्रशासनिक खर्च सरकारले दिने गरेको भएपनि भर्ना शुल्क ५ सय र खानाका लागि मासिक १५ सय शुल्क लिई शिशु स्याहार सञ्चालित छ ।
शिशु स्याहार केन्द्रकी लेखा अधिकृत कमला सापकोटाले शिशु स्याहार केन्द्रमा आमाहरूलाई तालिम प्रदान गरी बच्चाहरूको हेरचाहमा संलग्न गराउने जानकारी दिनुभयो ।

उहाँले समूहमा हुर्केका बच्चाहरूको दिमागको विकास पनि छिटो भएको पाइएको बताउनुभयो ।
लेखा अधिकृत सापकोटा भन्नुहुन्छ ‘समूहमा बसेर रङहरू चिन्ने, खानेकुराको नाम जान्ने, बोल्न नडराउने, र यहाँबाट निस्केपछि राम्रो स्कुलमा भर्ना पनि सजिलै हुने गरेको हामीले पाएका छौ’ ।
स्वस्थ खाना खुवाउने र राम्रो हेरचाह हुने भएकाले शिशु स्याहार केन्द्रमा धेरै महिला कर्मचारीहरूको आकर्षण बढ्दो भएपनि ठाउँ अभावका कारण धेरै शिशुहरूको भर्ना हुन सकेको छैन ।

शिशु स्याहार केन्द्रमा ३ महिनादेखि १ वर्षसम्मका १५ जना, १ देखि २ वर्षसम्मका २८ जना र २ देखि ३ वर्ष उमेरका ३२ जना गरी हाल ७५ जना बालबालिकाको हेरचाह भइरहेको छ ।
ती बच्चाहरूलाई १३ जना आमाहरूले हेरचाह गर्नुहुन्छ । हेरचाह गरिरहनु भएकी एक आमा भन्नुहुन्छ ‘हामीलाई आफ्नै बच्चाको जस्तै माया लाग्न, कहिलेकहीँ आफ्नै ममीसँग पनि जान मान्नुहुन्न, खुसी भएर बाइ गर्दै जानुहुन्छ’ ।
हेरचाहमा संलग्न आमाले दुवै हातले कोक्रोमा सुताएका बच्चा हल्लाउँदै भन्नुभयो ‘सबैको सुत्ने समय र खाने समय लगभग एउटै हुन्छ’ ।
सिंहदरबारभित्रका महिला कर्मचारीलाई मात्र होइन यस शिशु स्याहार केन्द्रले पुरुष कर्मचारीलाई पनि राहत दिएको छ ।
रेडियो नेपालमा कार्यरत कर्मचारी मनोज भण्डारीले आफूहरू श्रीमान् श्रीमती दुवै जागिरे भएकाले शिशु स्याहार केन्द्रमा आफ्नो बच्चा राख्न पाउँदा सहज भएको बताउनुहुन्छ ।
भण्डारी भन्नुहुन्छ ‘बिहान १० बजे कार्यालय आउँदा बाबुलाई सँगै लिएर आउने र बेलुकी ५ बजे जाँदा सँगै लिएर जाने भएकाले सजिलो भएको छ । घरमा हेर्ने कोही नभएपछि शिशु स्याहार केन्द्रमा राखे, सेवा पनि राम्रो छ, बेला बेलामा गएर हेर्न पनि सजिलो भएको छ।’
उहाँजस्ता ७५ जना अभिभावकहरू आफ्ना बच्चालाई बिहान ल्याउने र बेलुकी कार्यालय सकिएपछि सँगै लिएर जाने गर्नुहुन्छ ।
उमेर समूह अनुसार छुट्टाछुट्टै कोठामा राखेर हेरचाह गरिरहेका बालबालिकाहरूलाई प्रत्यक्ष र सिसिटिभी मार्फत् पनि व्यवस्थापकले निगरानी राख्ने गरेका छन् ।

एउटा शिशु स्याहार केन्द्रबाट सीमित कर्मचारी आमाहरू लाभान्वित हुनुभए पनि विभिन्न कार्यालयले आफ्ना कर्मचारीका लागि कार्यालय परिसरमै स्तनपान कक्ष, शिशु स्याहार केन्द्रको स्थापना गर्ने हो भने महिला तथा पुरुष कर्मचारी ढुक्क भई काम गर्ने वातावरण बन्नुका साथै स्तनपान गर्न पाउनु बालबालिकाको अधिकारबाट कोही बञ्चित हुनु पर्दैनथ्यो ।








प्रतिक्रिया राख्नुहोस्