लम्बेतान निर्णय प्रक्रियाले देश बन्दैन : मन्त्री मोदी
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले लम्बेतान निर्णय प्रक्रियाले देश नबन्ने बताउनुभएको छ ।

मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले निर्णयका लागि अपनाइने लम्बेतान प्रक्रियाभन्दा देशले नतिजा खोजिरहेको मन्त्री मोदीको भनाइ थियो ।
राष्ट्रिय निजामती सेवा ऐन ल्याउने प्रक्रियामा भइरहेको लम्बेतान निर्णय प्रक्रियाको उदाहरण दिँदै उहाँले भन्नुभयो, “मन्त्रालयले ऐन बनाएपछि कानून र अर्थमा सहमतिका लागि पठाउने, सहमति प्राप्त भएपछि समितिमा पठाउने, त्यसपछि मन्त्रिपरिषद्मा पठाउने अनि संसद्मा लैजाने, यस्तो लम्बेतान प्रक्रियाले हामी चाँडो नतिजा दिन नसक्ने ठाउँमा छौँ ।”
मन्त्री मोदीले कानून व्यक्तिगत स्वार्थका लागि नभई देश र जनताको आवश्यकतालाई सम्बोधन गर्नका लागि बनाउनुपर्ने धारणा समेत राख्नुभयो । मन्त्रालयले अहिले सुशासन कायम गर्ने सिलसिलामा सिंहदरबार वरिपरि रहेका कर्मचारीलाई स्थानीय तहमा सरुवा गर्न थालेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “कसैप्रति आग्रह र पूर्वाग्रह छैन । कसैप्रति आग्रह र पूर्वाग्रह बोकेर हिँड्ने पनि मान्छे म होइन, देश र जनताप्रति उत्तरदायी र हित सोचेर काम गर्न आवश्यक छ । सुशासन कायम गर्ने कुराको सुरुआत सामान्य प्रशासन मन्त्रालयबाट हुनुपर्छ, हामी यही अभियानमा छौँ ।”
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत, मन्त्रालयका सचिव डा कृष्णहरि पुष्कर, सरोकारवाला मन्त्रालयका प्रतिनिधि, मन्त्रालयका विभिन्न विभाग तथा निकायका प्रमुख, मन्त्रालयका विभिन्न महाशाखाका सहसचिव एवं प्रमुखसहित कर्मचारीहरूको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्