तपाईँ सुन्दै हुनुहुन्छः

उच्च अदालत हेटौँडाबाट एक वर्षमा १३१२ मुद्दा फर्छ्यौट  

मकवानपुर । उच्च अदालत पाटन, हेटौँडा इजलासबाट बितेको एक वर्षमा १३१२ वटा मुद्दा फर्छयौट भएको छ । अदालतले सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर आर्थिक वर्ष २०७९/०८० मा कुल १३१२ वटा मुद्दा फर्छ्यौट गर्न सफल भएको जानकारी दिएको हो । 

आर्थिक वर्ष २०७९/०८० मा कुल १७४१ वटा मुद्दा मध्ये १३१२ अर्थात् ७५ दशमलव ३६ प्रतिशत मुद्दा फर्छ्यौट गर्न सफल भएको अदालतका रजिस्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिनुभयो । भट्टका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा जिम्मेवारी सरेर आएका र आर्थिक वर्ष २०७९/०८० मा दर्ता भएका मध्ये ४२९ वटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेको छ । 

अदालतमा आर्थिक वर्ष २०७९/०८० मा १ हजार १९६ थान नयाँ मुद्दा दर्ता भएको र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका मुद्दा ५४५ थान मुद्दामध्ये ३० वटा मात्र मुद्दा फैसला हुन बाँकी रहेको उहाँले बताउनुभयो । यस्तै अदालतमा अहिले १८ महिनादेखी २ वर्ष अवधि नाघेका एउटा मात्र मुद्दा फर्छ्यौट हुन बाँकी रहेको उहाँले बताउनुभयो । 

पत्रकार भेटघाटमा आर्थिक वर्ष २०८०/८१ मा १ हजार २६७ नयाँ मुद्दा दर्ता हुने अनुमान गरिएको साथै १ हजार १०४ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको बताइएको छ । उच्च अदालत पाटन हेटौँडा इजलासले पुनरावेदन मुद्दा, शुरु मुद्दा, साधक तथा रिट र निषेधाज्ञाका मुद्दाहरू हेर्ने गरेको छ । 

पत्रकार भेटघाटमा बोल्दै उच्च अदालत पाटन, हेटौँडा इजलासका मुख्य न्यायाधीश अब्दुल अजिज मुसलमानले अदालत प्रतिको जनआस्था कायम राख्न मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । 

पत्रकार भेटघाटमा अदालतका न्यायाधीश मुहम्मद साविर हुसेन, राजेधर तिवारी, मेरिना श्रेष्ठ, निर्मला शाक्य सहित अदालतका कानुन अधिकृत लगायतको उपस्थिति रहेको थियो । उच्च अदालत पाटन, हेटौँडा इजलासले चितवन र मकवानपुरको पुनरावेदकीय मुद्दा हेर्ने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button