सहमतिको विकल्प छैन : सभामुख घिमिरे
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रतिपक्षबीच सहमतिको विकल्प नभएको बताउनुभएको छ ।

सदन सञ्चालन र संसदीय समितिका सभापतिहरूको चयन लगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेतासँगको आजको दोस्रो बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले आफूले अधिकतम रुपमा लचिलो भएर दलहरूलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको उल्लेख गर्नुभयो ।
उहाँले सांसदहरुले प्राकृतिक विपद् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन नपाएकाले दलहरुबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा आफू उभिँदै आएको जनाउँदै मङ्गलबार पनि सहमति नभएमा सदनको नियमित कारबाहीमा जाने स्पष्ट गर्नुभयो ।
सुन तस्करीका विषयमा छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गरेर प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सदनमा अवरोध गर्दै आएको छ । सभामुख घिमिरेले आज दुई पटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेतासँग बैठक गरे पनि ठोस सहमति जुट्न नसकेपछि सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगन भएको छ ।








प्रतिक्रिया राख्नुहोस्