तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्रीद्वारा पालिकालाई वारुणयन्त्र हस्तान्तरण

विराटनगर । मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि कोशी प्रदेश सरकारले ताप्लेजुङको फुङलिङ नगरपालिकालाई वारुणयन्त्र तथा पिकप भ्यान हस्तान्तरण गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज एक कार्यक्रमको आयोजना गरि सो मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले एउटा वारुणयन्त्र तथा पिकप भ्यान नगरपालिकाका प्रमुख अमिर मादेनलाई हस्तान्तरण गर्नुभयो ।

मुख्यमन्त्री थापाले नगर प्रमुखलाई सवारी साधनको साँचो र कागजात हस्तान्तरण गर्नुभएको थियो ।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् न्युनिकरण तथा व्यवस्थापनका लागि एकिकृत रुपमा सेवा प्रदान गर्न प्रदेशका १४ वटै जिल्लाका विभिन्न पालिकाहरूमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र स्थापना गर्दै आएको छ ।

कार्यक्रममा मुख्यमन्त्री थापाले विपद् व्यवस्थापन तथा जोखिम न्युनिकरण गर्न मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रहरूलाई विभिन्न प्रकारको सहयोग प्रदेश सरकारले गर्दै आएको बताउनुभयो ।

आन्तरिक मामिलातथा कानुन मन्त्रालयका सचिव सुरेश राउतले सेवा केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले १२ वटा पालिकालाई एक थान वारुण यन्त्र तथा एक थान पिकप भ्यान हस्तान्तरण गरिसेकेको बताउनुभयो । प्रदेश सरकारले ७३ लाख ५० हजारमा वारुणयन्त्र तथा ३७ लाख ५० हजारमा पिकअप भ्यान खरिद गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button