सर्वोच्चको नेतृत्व वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई
काठमाडौँ । न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हाल्नुभएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेदेखि सेवा निवृत्त हुनुभएपछि उहाँले नेतृत्व सम्हाल्नुभएको हो ।

पद बहालीका क्रममा कामु प्रधानन्यायाधीश श्रेष्ठले संविधान र कानुनका आधारमा सेवाग्राहीको हितलाई हेरेर चुस्तदुरुस्त तरिकाले काम गर्न निर्देशन दिनुभयो । उहाँले सेवाग्राहीले महसुस हुने गरी छिटो मुद्दा फर्छ्यौट गर्न आगामी दिनमा चाल्ने कदमका बारेमा न्यायाधीशहरूसँग छलफल गरेर तत्कालीन र दीर्घकालीन काम तय गर्ने बताउनुभयो ।
कामु प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाको सुधारका लागि सिङ्गो समूह नै लाग्नुपर्ने र त्यसका लागि सबै न्यायाधीशहरू र प्रशासनलाई सहयोग गर्न आग्रह गर्नुभयो । संवैधानिक परिषद्को बैठकले नेपालको ३१ औँ प्रधानन्यायाधीशमा नियुक्तिका लागि श्रेष्ठकाे नाम सिफारिस भइसकेको छ ।
संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरे पनि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सुनुवाइदेखि नियुक्तिसम्मको प्रक्रियामा केही समय लाग्ने देखिएको छ । श्रेष्ठको कार्यकाल आगामी वर्ष २०८१ असोजसम्म हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्