तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी

काठमाडौँ।नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकमा चौथो दिन आज पनि केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं साङ्गठनिक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहनु भएको छ ।

बुधबार सुरु पूर्ण बैठकमा तेस्रो दिन शुक्रवारसम्म १ सय ४२ जना केन्द्रिय सदस्य तथा पदाधिकारीहरूले आ–आफ्नो धारणा राखिसक्नु भएको माओवादी केन्द्रले जनाएको छ । बाँकी केन्द्रिय कमिटी सदस्यहरूको धारणा राख्ने क्रम आज पनि जारी छ ।

बैठकमा अधिकांश केन्द्रीय कमिटी सदस्यहरुले अध्यक्ष प्रचण्डको प्रस्तावमा सहमति जनाउँदै पार्टी सुदृढीकरणको अभियान चलाउँदै जनामा जानुपर्ने, पार्टी भित्र र बाहिर जहाँसुकै भएपनि भ्रष्टाचारकाविरुद्ध निर्मम ढंगले लाग्नुपर्ने र जनतालाई केन्द्रबिन्दुमा राखेर नेतृत्व अघि बढ्नुपर्ने लगायतका धारणा राख्नुभएको थियो ।

बैठकमा पार्टीको आठौँ महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा वैज्ञानिक र वस्तुनिष्ठ भएको भन्दै सदस्यहरुले सोहीअनुरूप पार्टी पुनर्निर्माणको कार्ययोजना निर्माण गरेर अगाडि बढ्नुपर्ने, पार्टी रूपान्तरण गर्दै समाजवादको आधार तयार पार्न सिङ्गो पार्टी एकताबद्ध बनाउन सङ्कल्प गरेर अघि बढ्नुपर्ने धारणाहरू राख्नुभएको थियो ।

हिजो बसेको केन्द्रिय कमिटीको पूर्ण बैठकले केन्द्रिय कमिटीमा २४ जना महिला सदस्य थप गरेर केन्द्रिय कमिटीको सङ्ख्या ४ सय ७ बनाएको छ । यस्तै माओवादी केन्द्रको वैकल्पिक केन्द्रिय सदस्यको सङ्ख्या २ सय ४ रहेको छ ।

माओवादी केन्द्रिय कमिटी बैठकमा धारणा राख्ने क्रम आज पनि जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button