कपिलवस्तुमा १४ प्रतिशत खानेपानीमा इकोली भेटियो
कपिलवस्तु।कपिलवस्तुमा १४ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावट भएको पाइएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाका ८ पालिकाको १ सय ४ स्थानको खानेपानीको नमुना परीक्षणमा १५ वटामा इकोली भेटिएको हो । जिल्लाका ८ स्थानीय तहमा गरिएको परीक्षणमा १४ दशमलव ४२ प्रतिशत नमुनामा इकोली भेटिएको स्वास्थ्य कार्यालय प्रमुख अनिरुद्ध श्रीवास्तवले बताए ।
पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ । परीक्षणमा जिल्लाका सुद्धोदन र मायादेबी गाउँपालिका र महाराजगन्ज नगरपालिकामा धेरै स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो ।प्रमुख श्रीवास्तवका अनुसार सुद्धोदन गाउँपालिकामा १६ नमुना परिक्षण गर्दा ४ वटामा ईकोली भेटिएको छ । मायादेबीमा ८ वटा परिक्षण गर्दा २ वटामा,महाराजगन्ज नगरपालिकामा ३० वटामा ७ र कृष्णनगर नगरपालिकामा १२ वटा परिक्षण गर्दा २ वटामा ईकाली भेटिएको स्वास्थ्य कार्यालय ल्याब टेक्निसियन श्रीधर खनालले बताए ।
शिवराज नगरपालिकाको १४, बुद्धभुमी नगरपालिकाको ८ र बाणगंगाको १० स्थानको नमुना परिक्षण गर्दा पानीमा ईकोलीको मात्रा नभेटिएको खनालले बताए । २ बर्ष अघि जिल्लाको कृष्णनगर, महराजगंज, मायादेबी लगायतका स्थानमा झाडा पखालाको प्रकोप फैलिदा ५ जना बढीको मृत्यु भएको थियो । गत असार २३ देखि २८ असार सम्म जिल्लाको ८ पालिकामा गरिएको पानीको नमुना परीक्षणले जिल्लाका ४ पालिमा हैजा फैलने जोखिम रहेको खनालले बताए ।
‘ पानीको नमुना परिक्षण गर्दा ४ पालिकाको पानीमा ईकोलीको मात्रा बढी फेला परेको छ ’ उनले भने ‘ त्यहाँ सचेतनाको कार्यक्रम सञ्चालन गर्नु पर्छ ’ । उनले हैन्ड पम्पको पानीमा भने ईकाली नदेखिएको उनले बताए । खासगरी कृष्णनगरको मदर्सा र अन्य पालिकाको नास्ता पसलहरूमा रहेका हेन्ड पम्प र जग, मग र बाल्टीमा रहेको पानीको परिक्षण गरिएको थियो । हेन्ड पम्पको पानीमा ईकालीको मात्रा भेटिएन तर जग, मल बाल्टीको पानीमा भने ईकोलीको मात्रा भेटिएको खनालले बताए ।
होटल र नास्ता पसलेले भाडाकुडा फोहर राख्ने र सरसफाईमा समेत ध्यान नदिएकाले यस्तो देखिएको उनले बताए । इकोलीले हैजा, झाडापखाला, टाइफाइड जस्ता दूषित पानीजन्य सरुवा रोग फैलन सक्ने भएकोले समयमै पानी शुद्धीकरण सम्बन्धी सचेतनामूलक क्रियाकलापहरू सञ्चालन गर्नु पर्ने स्वास्थ्यकर्मी बताउँछन् ।
बर्खाको समयमा सङ्क्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनाका साथै पानी शुद्धीकरण गरी पिउनु पर्ने उनीहरू बताउँछन् । जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकी, , विभिन्न खानेपानी आयोजना, कुँवा, उपभोक्ता समितिको धारालगायत पानी उमालेर मात्र पिउनुपर्ने बताइएको छ ।







प्रतिक्रिया राख्नुहोस्