लम्पी स्किन महामारी पीडितलाई राहत दिने सरकारको तयारी, प्याकेज ल्याउन कृषि मन्त्रीलाई जिम्मेवारी

काठमाडाैं । मन्त्रिपरिषद्को आजको बैठकले लम्पी स्किन महामारीबाट पीडित कृषकका लागि राहत दिनेबारे प्याकेज तयार पारी आगामी मन्त्रिपरिषद् बैठकमा पेस गर्न कृषि मन्त्री डा. वेदुराम भुसाललाई जिम्मेवारी दिएको छ ।
मन्त्रिपरिषद्को आज साँझ सिंहदरबारमा बसेको बैठकमा पशु–चौपायामा देखिएको लम्पी स्किन महामारीका कारण पीडित कृषकलाई राहत दिन सरकार गम्भीर रहेको र कृषि मन्त्री भुसालले आगामी बैठकमा पेस गर्ने राहत प्याकेज अनुसार किसानलाई राहतको घोषणा गरिने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा विधेयकलाई संसदमा लैजान स्वीकृति दिने निर्णय गर्नुसँगै विज्ञापन नियमन गर्ने (पहिलाे संशाेधन) नियमावली २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले विश्व वातावरण सुविधाबाट नेपाललाई प्राप्त हुने २० करोड २२ लाख रुपैयाँ बरावरको अनुदान स्वीकार गर्ने निर्णय गरेको पनि सञ्चार मन्त्री शर्माले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्