तपाईँ सुन्दै हुनुहुन्छः

प्रभावकारी सेवाका लागि प्रशासनिक सेवा केन्द्र स्थापना

भोजपुर । भौगोलिक बिकटताका कारण सेवा लिन आउने नागरिकहरूको सुविधाका लागि भोजपुरको धोदलेखानीमा प्रशासनिक सेवा केन्द्रको स्थापना गरिएको छ । 

प्रशासनिक सेवा केन्द्रको रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले सेवा केन्द्रको शुभारम्भ गर्नुभयो । 

रामप्रसाद राई गाउँपालिका वडा नम्बर दुई, धोदलेखानीमा प्रभावकारी सेवा प्रवाहका लागि प्रशासनिक सेवा केन्द्रको स्थापना गरिएको वडाध्यक्ष राजकुमार तामाङले बताउनुभयो । वडाध्यक्ष तामाङले भन्नुभयो, “हप्तामा अव आइतबार र सोमवार सेवा दिने गरी केन्द्रको स्थापना भएको छ, यसले भौगोलिक समस्यालाई समेत समाधान गर्छ ।” 

“चुनावको बेला गरेका प्रतिबद्धता पूरा गर्दै नागरिकहरूलाई सरल सहज ढंगले सेवा प्रवाह गर्न प्रशासनिक सेवा केन्द्र स्थापना गरिएको हो”, वडाध्यक्ष तामाङले भन्नुभयो ।

तत्कालीन धोदलेखानी गाउँ बिकास समिति हुँदाको ७ , ८ र ९ नम्बर वडाका नागरिकलाई सेवा लिन सहजताका लागि साविक वडा नम्बर ८ को सामुदायिक भवनबाट सेवा दिने गरी केन्द्र स्थापना गरिएको रामप्रसाद राई गाउँपालिका वडा नम्बर २ धोदलेखानीका वडा सदस्य सुन्दर राईले बताउनुभयो । 

सेवा केन्द्रको उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष थामबहादुर राईले भन्नुभयो, “सिंहदरबारको सेवा गाउँघरबाट नै दिन पाउँदा खुशी लागेको छ ।” निर्वाचनको समयमा गाउँगाउँमा सिंहदरबार भन्ने नारा लिएर जनताको घरदैलोमा भोट माग्न जाँदा विश्वास नगर्नेहरू भेटिएको स्मरण गर्नुहुँदै अध्यक्ष राईले नागरिकहरूलाई प्रभावकारी सेवा प्रवाह गर्न वडाहरूलाई पनि आग्रह गर्नुभयो ।

आफू जहिले नागरिकहरूसँगै रहेर देखिएका समस्याहरू समाधान गर्दै पालिकालाई बिकास र समृद्धिको यात्रामा अघि बढाउने योजनामा रहेको अध्यक्ष राईले बताउनुभयो । अन्य सेवाहरू पनि विस्तार गरिने योजनाहरू गाउँपालिकाले अघि सारेको छ । 

साना तिना सेवा लिनका लागि पनि असहज भइरहेको अवस्थामा पालिकाले वडा तहमा नै प्रशासनिक सेवा केन्द्र स्थापना गरेर सेवा दिन सुरु गरेकोमा धोदलेखानीवासीहरु समेत खुशी देखिनुभएको छ । पायक पर्ने स्थानमा प्रशासनिक सेवा केन्द्र स्थापना भएपछि स्थानीय नागरिकहरूले पनि सहजताको महसुस गरेको वडा सदस्य सुन्दर कुमार राईको भनाई रहेको छ । 

गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण लगायतको कार्य समेत स्थानीय बैङ्कसँगको समन्वयमा वडा तहमा नै घुम्ती शिविरमार्फत गरेको छ ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button