तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेश सरकारका दुई मन्त्रीद्वारा राजीनामा

धनुषा । मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ । 

प्रदेश सरकारका विना विभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाउनुभएको हो । 

उहाँहरू दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी हुनुहुन्थ्यो । 

जनमत पार्टीका नेता विपी साहका अनुसार दुवै मन्त्रीले पार्टीको निर्देशनअनुसार राजीनामा बुझाउनुभएको हो । यसअघि मन्त्री कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी गत जेठ ९ गते मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एकीकृत समाजवादी)का गोविन्द न्यौपानेलाई दिनुभएको थियो । त्यसयता कुशवाहा विना विभागीय मन्त्रीको हैसियतमा हुनुहुन्थ्यो । 

नेता साहका अनुसार उहाँहरूको स्थानमा नयाँ दुई जनालाई मन्त्री सरकारमा पठाउने विषयमा छलफल भइरहेको छ । 

“कुशवाहको ठाउँमा जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंह र यादवको स्थानमा सांसद रञ्जु खंगलाई सरकारमा पठाउने विषयमा छलफल भइरहेको छ”, साहले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button