महिला विश्वकप फुटबल : स्वीट्जरल्याण्ड र नर्वे अन्तिम १६ मा
काठमाडौँ । फिफा महिला विश्वकप फुटबलमा समूह ए बाट प्रिक्वाटर फाइनलमा पुग्ने टिमको टुङ्गो लागेको छ । अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी विश्वकप अन्तर्गत समूह एबाट स्वीट्जरल्याण्ड र नर्वेले अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।
यो समूहमा रहेको आयोजक राष्ट्र न्युजिल्याण्ड भने समूह चरण पार गर्न असफल रह्यो । विजयी सुरुआत गरेको न्युजिल्याण्डलाई फिलिपिन्ससँग पराजय भोग्नु नै दुर्भाग्य बन्यो । अन्तिम खेलमा जित निकाल्नैपर्ने अवस्थामा स्वीट्जरल्याण्डसँग बराबरी खेलेपछि न्युजिल्याण्ड समूह चरण पार गर्न असफल भयो ।
निर्धारित समय दुवै टिमले गोलरहित बराबरी गर्दै अङ्क बाँड्दा स्वीट्जरल्याण्ड समूह विजेता बन्यो भने न्युजिल्याण्ड तेस्रो स्थानमा रह्यो । स्वीट्जरल्याण्डले समूह चरणमा एक खेलमा जित निकाल्दा २ खेल बराबरी गरेको हो ।
यस्तै नर्वेले १ मा जित, १ मा हार र १ मा बराबरी खेल्दै ४ अङ्क जोडेको थियो । समान नतिजा न्युजिल्याण्डको भएर समान ४ अङ्क हुँदा गोल अन्तरका आधारमा नर्वेले बाजी मारेको हो । समूह चरणबाट एक खेलमा मात्रै जित निकालेको फिलिपिन्स चौथो स्थानमा रहेर घर फर्किएको छ ।
कोलम्बियाले फिफा महिला विश्वकपमा उपाधि दाबेदार जर्मनीमाथि रोमाञ्चक जित निकालेको छ । कोलम्बियाले जर्मनी माथि २–१ को रोमाञ्चक जित दर्ता गरेको हो ।
यस जितसँगै कोलम्बिया समूह ‘एच’ मा दुई खेलबाट ६ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ । पराजित जर्मनी ३ अङ्क जोडेर दोस्रो स्थानमा छ । मोरोक्कोको ३ अङ्क रहे पनि गोल अन्तरमा पछि छ । दक्षिण कोरिया अङ्कविहीन हुँदै पुछारमा छ ।
यही समूहको अर्को खेलमा मोरोक्कोले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै समूह चरण पार गर्ने सम्भावना जीवितै राखेको छ । लगातार दोस्रो हारसँगै दक्षिण कोरिया समूह चरणबाटै बाहिरिएको छ । अब समूह चरणको अन्तिम खेलमा दक्षिण कोरिया र जर्मनी तथा कोलम्बिया र मोरोक्कोबीच खेल हुनेछ ।







प्रतिक्रिया राख्नुहोस्