तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण जरुरी रहेको बताउनुभएको छ ।

समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रियामा उहाँले राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक तथा सामाजिक परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

विश्वका विभिन्न देशमा प्रयोग भएका समाजवादको मोडलको राम्रा अनुभवलाई नेपालले पनि ग्रहण गरेर अगाडि जानुपर्ने पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ । समाजवादी मोर्चाका अध्यक्ष समेत रहनुभएका उहाँले धेरैभन्दा धेरैलाई मोर्चामा समेटेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । उहाँले मोर्चामा आबद्ध हुन देशभक्त, वामपन्थी र समाजवादी विचारधारा अँगालेका शक्ति र पार्टीलाई आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचार, अत्याचार, असमानताका विरुद्ध एकताबद्ध भएर जुध्नुपर्ने उल्लेख गर्दै समाजवाद न्याय, समानता र सबै जनताको समृद्धिको अभियान भएको बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समाज सुधारको प्रमुख आधार नै शिक्षा भएकाले त्यसमा सुधारको जरुरी रहेको बताउनुभयो । उहाँले पछिल्ला दिनमा सबैभन्दा बढी समस्यामा परेको र ध्वस्त भएको क्षेत्रका रूपमा शिक्षा नै भएकाले त्यसमा आमूल परिवर्तन जरुरी रहेको बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले धेरै समस्या र उल्झनलाई छिचोलेर सङ्घीय शिक्षा विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न लागिएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको समग्र विकासका लागि सो विधेयकले महत्त्वपूर्ण योगदान गर्ने र शिक्षकको समेत समस्या समाधान हुने बताउनुभयो ।

उहाँले संविधानले मौलिक हकका रूपमा दिएको धेरै विषयवस्तुलाई कार्यान्वयनमा लैजानु जरुरी रहेको र त्यसमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको स्पष्ट पार्नुभयो । शिक्षामन्त्री राईले समाजवादको आधार तयार पार्नका लागि युवा विद्यार्थीले जोसमा होस राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेकपाका स्थायी समिति सदस्य उमा भुजेलले विभिन्न आन्दोलन र विद्रोहको जगमा अगाडि बढ्न लागेको नेपाली विशेषताको समाजवादलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । नयाँ ढङ्गले समाजवादलाई अगाडि बढाउनु जरुरी रहेको स्पष्ट पार्दै उहाँले पुँजीवादले समेत त्यसको केही आधार राखेर अगाडि बढिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button