महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निर्माणमा जुटे

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् ।
जोगबुढा र महाकाली नदीको दोभान भएका कारण त्यस क्षेत्रमा हरेक वर्ष डुबान र कटान हुने गरेको छ । महाकाली नदीमा सामान्य जलस्तर बढ्दा पनि नदीले बस्तीतर्फ कटान गर्न थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले जानकारी दिनु भएको छ। ‘बस्तीबाट ४०र५० मिटरको दूरीमा महाकाली नदीले कटान थालेको छ यसलाई रोक्न अस्थायी तटबन्ध गर्न थालेका छौँ,’ नगरप्रमुख लिम्बूले भने, ‘अहिलेसम्म नदीले दुई बिघाभन्दा बढी जग्गा कटान गरिसकेको छ ।’
उहाँले महाकाली नदीमा जलस्तर बढ्दा काम गर्न निकै कठिन भएको बताउनु भएको छ। अहिले त्यस क्षेत्रमा स्थानीयवासीले रुखका हाँगा, बाँस र डोरीले पानीको प्रवाह कम गर्न अस्थायी तटबन्धको काम गरिरहेका छन् ।
ठूलो बाढी नआउँदै महाकालीले कटान गर्न थालेपछि यहाँका स्थानीयवासी त्रसित बनेका छन् । ‘यहाँको खेतीयोग्य जग्गा नदीले तीव्र रूपमा कटान गरिरहेको छ,’ एक स्थानीयले भने, ‘बाढीको त्रासले यहाँका बासिन्दाले सुत्न पाएका छैनन् ।’
उहाँले कटान रोक्नका लागि स्थानीय पालिकाले तत्काल काम गर्नुपर्ने बताउनुभयो । ४९ परिवारको बसोबास रहेको यो बस्तीमा यहाँका स्थानीयवासी तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्ने गर्छन् । बाढीले यहाँको बिघौँ बिघा जग्गा बगरमा परिणत गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्