तपाईँ सुन्दै हुनुहुन्छः

श्रेष्ठ र सिलाकारलाई उमेर समूहका राष्ट्रिय टोली सम्हाल्ने जिम्मेवारी

काठमाडौँ । जावलाखेल युवा क्लबका प्रशिक्षक सुनिल श्रेष्ठ र सङ्कटाका रविन्द्र सिलाकारलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले उमेर समूहका राष्ट्रिय टोली सम्हाल्ने जिम्मेवारी सुम्पिएको छ ।

प्रशिक्षक श्रेष्ठलाई एन्फाले नेपाल यू–१९ राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी दिएको हो । श्रेष्ठले यसअघि सन् २०१५ मा नेपालले साफ यू–१९ च्याम्पियनसिपको उपाधि जित्दा बालगोपाल महर्जनको सहायकको रुपमा काम गरेका थिए ।

जारी सिजन जावलाखेल युवा क्लबले उच्च प्रदर्शन गर्दा उनी टोलीको प्रशिक्षक थिए । यसपटक उनलाई जावलाखेलकै पूर्व खेलाडी सचिन्द्र धिमालले सहायकको रुपमा सघाउनेछन् । सातदोबाटो युवा क्लबका गोलरक्षक प्रशिक्षक राजु सिंह र व्यवस्थापक दिवाकर घले पनि टोलीमा छन् ।

नेपालले सेप्टेम्बर २१ देखि ३० सम्म प्रतियोगिता आयोजना गर्दैछ । खेल दशरथ रङ्गशालामा हुनेछ । नेपाल यस प्रतियोगितामा माल्दिभ्स र पाकिस्तान रहेको समूहमा छ ।

यस्तै यू–१६ उमेर समूहमा रविन्द्र सिलाकार प्रशिक्षक रहेका छन् । थ्री स्टार क्लबको पूर्व प्रशिक्षक रहेका उनी यस सिजन सङ्कटालाई रेलिगेसनबाट जोगाउन अन्तिम समयमा संकटमोचक बनेका थिए । सिलाकारलाई सिताराम घिमिरेले सहायक प्रशिक्षकको रुपमा सघाउनेछन् भने आर्मीका पूर्व खेलाडी गङ्गाराम देउजा गोलरक्षक प्रशिक्षक रहनेछन् ।

प्रतियोगिता सेप्टेम्बर १ देखि १० सम्म भुटानमा हुनेछ । नेपालको समूहमा भारत र बङ्गलादेश छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button