नाथम बर्दिबासकाे उपहार हो : एमाले सचिव भट्टराई

बर्दिबास । नेकपा एमालेका सचिव योगेश भट्टराईले नाथमलाई बर्दिबासले उपहारको रुपमा बुझ्नुपर्ने बताउनुभएको छ । आज नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बर्दिबास महोत्तरीको निरीक्षण गर्नुहुँदै उहाँले नाथम कलेजको महत्वलाई यहाँका जनप्रतिनिधिले पनि गम्भीरताका साथ लिनुपर्नेमा जोड दिनुभयो ।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहनुभएका उहाँले मधेस प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्नुभयो । ‘सांस्कृतिक हिसाबले मधेस एकदमै अग्रसर छ,’ नेता भट्टराईले भन्नुभयो ‘मधेसलाई जसरी पर्यटनको हिसाबले विकास गर्नुपर्ने थियो । त्यसरी गर्न सकिएन ।’
उहाँले नाथमबाट उत्पादन जनशक्तिको भविष्य उज्ज्वल रहेको बताउनुभयो । होटेल म्यानेजमेन्टका लागि नाथम कलेज एसियामै उत्कृष्ट रहेको समेत नेता भट्टराईले दाबी गर्नुभयो ।
कलेज निरीक्षणका लागि पुग्नुभएको भट्टराईसहितका नेताहरूलाई नाथम बर्दिबासका प्रमुख शिवेन्द्र मल्लिकले कलेजलाई थप व्यवस्थित बनाउनका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।
निरीक्षणको क्रममा नेता भट्टराईसँगै नेकपा एमालेका मधेस प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादव, प्रदेशसभा सदस्य शारदादेवी थापा, एमालेका मधेस प्रदेशका प्रचार विभाग प्रमुख सोमप्रसाद शर्मा, प्रदेश सचिवालय सदस्य शङ्कर महतोलगायत स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए ।








प्रतिक्रिया राख्नुहोस्