मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउँछ : अर्थमन्त्री डा. महत
रुपन्देही । अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान गराउने बताउनुभएको छ।
सोमबार बुटवलमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नयाँ मौद्रिक नीतिले ब्याजदरमा केही कम गराएकाले अब निजी क्षेत्रमा लगानी बढेर जाने र अर्थतन्त्र चलायमान हुने बताउनुभएको हो ।
‘हिजो मात्रै नयाँ मौद्रिक नीति सार्वजनिक भएको छ । मौद्रिक नीतिले ब्याजदर कम भए पछि लगानी बढ्छ । यसले गर्दा सुस्ताएको अर्थतन्त्र अब चलायमान हुन्छ।’ अर्थमन्त्री महतले भन्नुभयो ।
उहाँले ब्याजदर कम भएपछि लगानी बढ्ने र रोजगारीमा पनि वृद्धि हुने बताउनुभयो । मन्त्री महतले पुँजीगत क्षेत्रको खर्च बढाउनका लागि समयमा नै ठेक्का लगाउनुपर्ने र गत वर्ष राजस्व कम उठे पनि यो वर्ष राजस्व धेरै उठ्ने गरी सरकारले योजना बनाएको बताउनुभयो ।
काङ्ग्रेसका प्रवक्ता समेत रहनुभएका अर्थमन्त्री महतले पार्टीको बैठक लाइभ गर्दा बाहिर यथार्थ कुरा बाहिर आएको बताउनुभयो । पार्टीभित्रका धेरै भ्रमहरू बैठकको लाइभ प्रक्रियाले चिरेको छ, पार्टीभित्र धेरै किचलो भएको भ्रम फैलाइएको थियो, अब सबैलाई क्लियर भयो’ उहाँले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्