गोदाममै थन्किए भेन्टिलेटर

बाँके । मर्मत गर्न नसक्दा बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा १२ भेन्टिलेटर गोदाममै थन्किएका छन् । कोभिड–१९ को समयमा सरकार र विभिन्न दाताले सहयोग गरेका भेन्टिलेटर त्यतिकै थन्किएका हुन् ।
भेन्टिलेटर बिग्रिएपछि गोदाममा थन्क्याइएको भेरी अस्पतालका चिकित्सक डा.पारस पाण्डेले बताउनु भयो । “भेन्टिलेटर अभावमा कोभिड–१९ का बिरामीको उपचारमा समस्या भएपछि विभिन्न दाताले पाँचवटा उपलब्ध गराएका थिए । मर्मत गर्न नसक्दा गोदाममा थन्किएका छन् ।” उहाँले बताउनुभयो । उहाँले सरकारले खरिद गरेका २० मध्ये सातवटा भेन्टिलेटर बिग्रिएको जानकारी दिनुभयो ।
अस्पतालसित बाँकी रहेका १३ भेन्टिलेटरमा पनि ब्याट्रीको समस्या देखिएको डा पाण्डेले बताउनु भयो । “मर्मतका लागि रकमको खाँचो छ, उपलब्ध हुनासाथ मर्मत गर्छौँ”, उहाँले भन्नुभयो । छिनछिनमा बत्ती आउने जाने हुँदा भेन्टिलेटर बिग्रिएको उहाँले बताउनुभयो । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईँले दैनिक छवटा भेन्टिलेटर सञ्चालनमा ल्याएको बताउनुभयो ।
जनशक्ति र शैय्याको अभावले बिरामीलाई सेवा दिन नसकिएको उहाँको भनाइ छ । “प्रत्येक दिन ९० प्रतिशत शैय्या भरिभराउ हुन्छन् । नयाँ बिरामीले शैय्या पाउन कि पुराना निको हुनुपर्यो, कि सिफारिस भएर अन्यत्र जानुपर्ने हुन्छ ।” उहाँले बताउनुभयो ।
डा.चापागाईँले सघन रोगका बिरामीलाई मात्र आइसियुमा राखेर उपचार गरिने जानकारी दिनुभयो । आइसियुमा उपचाररत बिरामीलाई श्वास फेर्न गाह्रो भएपछि भेन्टिलेटरको आवश्यकता पर्छ । भेरी अस्पतालको आइसियुमा १५ वटा मात्र बेड छन् ।







प्रतिक्रिया राख्नुहोस्