तपाईँ सुन्दै हुनुहुन्छः

लम्पी स्किन रोगको महामारी रोकथाम र उपचारमा जुट्न आग्रह 

बाँके । लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले गाई भैँसीमा फैलिएको लम्पी स्किन रोगको महामारी रोकथाम र उपचारमा जुट्न सरोकारवालाहरूलाई आग्रह गरेको छ । 

मन्त्रालयले लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रहरूमा लम्पी स्किन रोगको महामारी फैलिसकेकोले यसको रोकथाम र उपचारमा जुट्न सरोकारवालाहरूलाई आग्रह गरिएको हो ।

मन्त्रालयले साउन दुई गते लम्पी स्किन रोगका बारेमा सूचना प्रसारण गर्ने परिपत्र गरेपछि साउन ४ गते बिहीबार मन्त्रालयका सचिव यमनारायण देवकोटाको अध्यक्षतामा बाँकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा बसेको बैठकले प्रदेशभरी लम्पी स्किन रोगको विरुद्धमा खोप तथा सङ्क्रमणबाट बिरामी पशुको प्राथमिक उपचार अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो । 

बैठकमा मन्त्रालयका महाशाखा प्रमुख घनश्याम चौधरी, प्रशासनका खगराज उपाध्याय, भेटेरिनरी अस्पतालका कर्मचारीहरू, बाँके जिल्लामा रहेका सबै स्थानीय तहमा रहेको पशुसेवा शाखाका प्रमुख, प्रदेश करार कर्मचारीहरूको उपस्थिति थियो ।

बैठकपछि बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ मा रहेको पशुपन्छी फार्महरूमा खोप तथा बिरामी पशुको प्राथमिक उपचार अभियान सञ्चालनको सुरुवात गरिएको मन्त्रालयका सचिव देवकोटाले जानकारी दिनुभयो। प्रभावित क्षेत्रको अनुगमन गरि तत्काल सो क्षेत्रमा खोप तथा प्राथमिक उपचार सञ्चालन गर्न आफ्ना मातहतमा रहेका निकाय र सम्बद्धहरूलाई निर्देशन दिइएको मन्त्रालयका सचिव देवकोटाले बताउनुभयो ।उक्त रोगको नियन्त्रण तथा रोकथामका लागि “आक्रामक कदम” चाल्न सचिव देवकोटाले कर्मचारी तथा पशु स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । 

तत्कालका लागि लम्पी स्किन रोग नियन्त्रण आदेश जारी गरी प्रभावकारी रूपमा उपचार, रोकथाम तथा नियन्त्रण गर्न आवश्यक व्यवस्था मिलाउने काम भैसकेको मन्त्रालयले जनाएको छ । 

बिहीबार बाटै प्रदेशका १२ वटै जिल्लामा यस किसिमको अभियान सञ्चालन गरिएको छ । यस अभियान निःशुल्क रुपमा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । सुरुमा तराई र मध्य पहाडका जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएकोमा अहिले उच्च पहाडी तथा हिमाली क्षेत्रमा समेत फैलिसकेको छ।

गाई भैँसीलाई हुने यो एकदमै सङ्क्रामक रोग हो। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ। सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाई भैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ।  

स्थानीय तहहरूमा समन्वय गरेर जोखिम एरियामा रहेका सबै पशुहरूलाई खोप तथा उपचार प्रदान गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका बाँकेका प्रमुख कमला अधिकारीले जानकारी दिनुभयो । खोप तथा उपचारका लागि बाँकेमा रहेका ८ पालिका बाट ६० जना कर्मचारी तथा प्रदेश करार कर्मचारी प्रभावित क्षेत्रमा खटिने प्रमुख अधिकारीले बताउनुभयो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button