काँकडभिट्टाबाट कृषिजन्य वस्तुको निर्यातमा उल्लेख्य वृद्धि
झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुहरू अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात उल्लेख्य रुपमा बढेको पाइएको छ ।

मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा रु. आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा चार अर्ब ७६ लाख ४३ हजार ८९ हजार मूल्य बराबरको ५२ लाख ८० हजार ४४३ केजी अलैँची भारत निकासी भएको थियो ।
गत आवको तुलनामा आर्थिक वर्ष २०७९/०८० मा अलैँचीको निर्यात ४२ प्रतिशतले वृद्धि भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
यसैगरी, गत आवको तुलनामा आर्थिक वर्ष २०७९/०८० मा तयारी चियाको निर्यात १६ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/०८० मा रु. तीन अर्ब ४२ करोड ६९ लाख ५२ हजार मूल्य बराबरको एक करोड ६० लाख ७८ हजार ६३ केजी चिया निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताउनुभयो । आ.व. ०७८/०७९ मा रु. दुई अर्ब ८७ करोड ४६ लाख १० हजार मूल्य बराबरको एक करोड १७ लाख १३ हजार ६५९ केजी चिया निर्यात भएको थियो ।
यसैगरी, आर्थिक वर्ष २०७९/०८० मा रु. ६३ करोड ९२ लाख २९ हजार मूल्य बराबरको एक करोड ५५ लाख ४२ हजार ९३० केजी अदुवा निर्यात भएको छ । आ. व. २०७८/०७९ मा रु. ३३ करोड ६९ लाख २३ हजार मूल्य बराबरको एक करोड चार लाख ५८ हजार ७० केजी अदुवा निर्यात भएको थियो । अदुवाको निर्यात ४७ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/०८० मा रु. ८६ करोड ४३ लाख मूल्य बराबरको एक करोड १९ लाख ७३ हजार ९८० केजी अम्रिसो भारततर्फ निकासी भएको छ । आ. व. २०७८/०७९ मा रु. ६२ करोड ८९ लाख ८१ हजार मूल्य बराबरको एक करोड २४ लाख ४३ हजार २४५ केजी अम्रिसो निर्यात भएको थियो । अम्रिसोको निर्यात २७ प्रतिशतले वृद्धि भएको भन्सारले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्