सञ्चारमन्त्री शर्मासँग इजरायली राजदूतको शिष्टाचार भेट

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेट गर्नुभएको छ ।
मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच सूचना प्रविधि र कृषि क्षेत्रको विकास लगायतका विविध विषयमा छलफल भएको सञ्चार मन्त्रीको सचिवालयले जनाएको छ ।
नेपालले सूचना प्रविधिको विकास र प्रयोगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै सरकारका प्रवक्ता शर्माले कृषि क्षेत्रमा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा इजरायलसँग सहकार्य गर्न चाहेको बताउनुभयो ।
पहिलेको तुलनामा सूचना प्रविधिका क्षेत्रमा नेपालले पनि उल्लेख्य विकास गरेको जानकारी दिँदै उहाँले सरकारले सूचना प्रविधि विकास र प्रयोगलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

सरकारको नीति तथा कार्यक्रममार्फत सञ्चार क्षेत्रको विकासलाई प्राथमिकता दिइएको उल्लेख गर्दै मन्त्री शर्माले डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “देशभरि सूचना सञ्चारको पहुँच विस्तार तीव्र गतिमा भइरहेको छ, त्यसमा प्रधानमन्त्रीको उच्च प्राथमिकता रहेको छ ।”
इन्टरनेटको फोरजी सेवा देशभरि पुर्याउने काम अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री शर्माले फाइभजी सेवा पनि परीक्षणका क्रममा रहेको बताउनुभयो । नेपालले आफ्नै स्याटेलाइट राख्ने सवाललाई पनि प्रथामिकतामा राखेको उल्लेख गर्दै उहाँले गुणस्तरीय स्याटेलाइट राखेर सूचना प्रविधिको विकासलाई नयाँ आयाम दिने सरकारको तयारी रहेको जानकारी दिनुभयो ।
राजदूत गोडर गोल्डबर्गर पछिल्लो समय सूचना प्रविधिलगायत सबै क्षेत्रमा नेपालले तीव्र विकास गरिरहेको बताउनुभयो ।
सूचना र सञ्चारका क्षेत्रमा प्रभावकारी सेवा भएन भने अबका दिनमा विश्व समुदायमा प्रतिस्पर्धा गर्न कठिन हुने भएकाले पनि विश्वले त्यस क्षेत्रमा चाँडो चाँडो विकास गरिरहेको उहाँको भनाइ थियो ।







प्रतिक्रिया राख्नुहोस्