हेँवाखोला बाढीमा फेला परेको शवको पहिचान खुल्यो
किमाथाङका । सङ्खुवासभाको चैनपुर नगरपालिका–४ हेवाखोलामा फेला परेको शवको पहिचान खुलेको छ ।
आइतबार चैनपुर नगरपालिका–४ स्थित निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरको पावर हाउसमा २९ दिनपछि थप एक जना मजदुरको शव फेला परेको थियो ।
चैनपुर–४ हेँवाखोलामा फेला परेको शव बर्दियाका राजाराम थारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।
गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले सुपर हेँवाखोलमा हाइड्रोपावरका १७ मजदुर बेपत्ता बनाएको थियो ।
शव हाइड्रोपावरको टनेलभित्र फेला परेको थियो । थारुको शव आज आफन्तले जिम्मा लिएपछि जिल्ला अस्पताल सङ्खुवासभामा पोष्टमार्टम गरिएको छ ।
बाढीपहिरोमा परेको अन्य १८ अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । तीमध्ये तीन जनाको शव हालसम्म फेला परिसकेको छ । दुई वर्षसम्म नभेटिएको अवस्थामा मृतक मान्ने प्रावधान छ ।
प्राकृतिक प्रकोपको हकमा नेपाल सरकारले नै निर्णय गर्नुपर्छ । बाढीपहिरोका कारण जिल्लाका विभिन्न स्थानका २० घर परिवार विस्थापित भएका छन् ।
बाढीपहिरोबाट विस्थापित भएका २० घर परिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् । चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो ।
बाढीले तीनवटा पक्की पुलमा क्षति पुर्याएको छ । बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ । रासस






प्रतिक्रिया राख्नुहोस्