तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा भानुभक्तको अर्धकदको शालिक अनावरण

वीरगञ्ज । वीरगञ्जमा २ सय ५ औँ भानु जयन्तीको अवसरमा नयाँ बसपार्कस्थित भानु चोकमा वीरगञ्ज महानगरपालिकाले निर्माण गरेको भानुभक्त आचार्यको अर्धकदको शालिक अनावरण गरिएको छ ।

वरिष्ठ साहित्यकार भवानी क्षेत्री र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले संयुक्त रुपमा सालिकको अनावरण गर्नुभएको हो ।

मधेश आन्दोलनका क्रम वीरगञ्जको बाइपास सडकखण्ड, लिंकरोड र बसपार्क चोकको मध्यभागमा रहेको भानुको अर्धकदको शालिक तोडफोड भएपछि लामो समय सम्म उक्त स्थान खाली रहेको थियो ।

मूर्ति अनावरण गर्दै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सिंहले आदिकवि भानुभक्त आचार्यले संस्कृतिमा लेखिएको रामायणलाई नेपालीमा अनुवाद गरेर सरलीकृत गरी धर्म संस्कृतिको प्रचारमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।

उहाँले भानुभक्तका योगदानको स्मरणसँगै सम्मान गर्ने परम्परा अगाडि बढाउँदा अन्य भाषा संस्कृतिको समेत संरक्षण र संवर्द्धनमा सबैको ध्यान केन्द्रित हुने विचार व्यक्त गर्नुभयो ।

भानु जयन्तीकै अवसरमा आज वीरगञ्जमा नारायणी वाङ्मय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजले कविता वाचन प्रतियोगिता र पुरस्कार वितरण कार्यक्रमको समेत आयोजना गरेका थिए ।

बसपार्कमा भानुको शालिक अनावरण र माल्यार्पण कार्यक्रमपछि झाँकी, जुलुस बाजागाजा सहित निस्किएको प्रभात फेरीले नगर परिक्रमा गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button