तपाईँ सुन्दै हुनुहुन्छः

समितिका निर्देशनहरू कार्यान्वयन भए नभएको खोजी गर्न सांसदहरूको माग

काठमाडौँ । सार्वजनिक लेखा समितिका सदस्यहरुले समितिको निर्देशन कार्यान्वयन नहुँदा समितिको औचित्यमाथि नै प्रश्न उठेको बताउनुभएको छ । 

बैठकमा समितिले वाईडवडी खरिद, ट्रङ्कलाईनको विल भुक्तानीलगायत थुप्रै प्रकरणमा भ्रष्टाचार भएको ठहर गरी दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै सांसदहरुले लेखा समितिको औचित्यमाथि प्रश्न उठेको बताउनुभयो । 

सांसदहरुले वाईडवडी विमान खरिदमा समितिले भ्रष्टाचार ठहर गरेर अख्तियारलाई कारबाही गर्न निर्देशन दिए पनि काम अघि नबढेकाले यस्ता विषयको खोजी हुनुपर्ने बताउनुभयो । 

बैठकमा सांसदहरुले वाईडवडीमा ४ अर्ब ३५ करोड बेरुजु देखिएको भन्दै अख्तियारको भूमिका लगायत समितिको निर्देशन कार्यान्वयनको अवस्थाका बारेमा खोजी गर्नुपर्ने बताउनुभयो । 

महालेखापरीक्षकको कार्यालयले लेखा समितिमा नल्याई सिधैँ सम्परीक्षण गर्ने कार्य गर्नु कानुन सम्मत नभएको भन्दै सांसदहरुले महालेखापरीक्षक र मुख्यसचिवसहित सबै सचिवहरूलाई बोलाएर छलफल गर्नुपर्ने बताउनुभयो । 

सार्वजनिक लेखा समितिका सभापति अर्जुन नरसिंह केसीले समितिले यसअघि दिएका निर्देशन र समितिमा उठेका विषयहरूको अवस्थाबारे विवरण तयार गर्न सचिवालयलाई निर्देशन दिनुभयो । 

बैठकमा राजेन्द्र कुमार केसीको संयोजकत्वमा रहेको उपसमितिले बैठकमा ‘सार्वजनिक लेखा समितिको आन्तरिक कार्यविधि २०८०’ मस्यौदा प्रस्तुत गरेको थियो । 

‘सार्वजनिक लेखा समितिको आन्तरिक कार्यविधि २०८०’ माथि छलफल गर्दै सांसदहरुले लेखा समितिको आन्तरिक कार्यविधि प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button