‘कर्णालीको विकासका लागि शिक्षामा लगानी बढाउन आवश्यक’
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशको चौतर्फी विकासका लागि आधुनिक, प्राविधिक शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशमा सार्वजनिक शिक्षासम्बन्धी’ अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले विज्ञान र प्रविधिसँग जोडेर विकासका लागि आउँदो आर्थिक वर्षमा प्रदेशका दश ओटै जिल्लामा एक/एक वटा नमूना विद्यालय निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले मानव संसाधनको विकास नभई भौतिक संसाधनको विकास हुन नसक्ने भएकाले गुणस्तरीय शिक्षा कर्णालीको आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रममा पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको आवश्यकतामा आधारित शिक्षामा गरिने लगानी अनुसारको प्रतिफल सहजै प्राप्त गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
त्यस्तै पूर्व मन्त्री तथा कर्णाली प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता यामलाल कँडेलले गुणस्तरीय शिक्षाको विकासका लागि प्रदेश सरकारले आफ्नो बोली अनुसारको व्यवहार कार्यान्वयन गरेमा आफु र आफ्नो पार्टीको समर्थन रहने बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले शिक्षा क्षेत्रमा गरिने लगानीको प्रतिफल ढिलो गरी प्राप्त हुने भएकाले सबैको धैर्यता र साथ चाहिएको बताउनुभयो ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा. नन्दबहादुर सिंहले गुणस्तरीय उच्च शिक्षाको गुणस्तर सुधार लागि विद्यालय शिक्षाको भूमिका महत्वपूर्ण रहेको जनाउनुभयो ।
प्राध्यापक डा. विद्यानाथ कोइरालाले उच्च शिक्षाको गुणस्तर माथि उकास्न सरकार र समुदायबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्ले, बहुमुखी क्याम्पस सुर्खेतका प्रमुख माधवप्रसाद खनाल लगायतले कर्णाली प्रदेशको शैक्षिक अवस्था, उच्च शिक्षाको सम्भावना, चुनौती लगायतका बारेका कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्