तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री बस्नेत र प्रधान सेनापतिद्वारा मेलम्ची बेलीब्रिजको उद्घाटन

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले विशेष समारोहबिच सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० र ११ जोड्ने इन्द्रावति नदीमाथि निर्माण गरिएको बेलीब्रिजको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि स्थानीयवासीले धेरै सास्ती बेहोर्नु परेको अवस्थामा नेपाली सेनाको सहयोगमा मेलम्ची बेलीब्रिज छोटो समयमै निर्माण भएकोमा खुशी व्यक्त गर्नुभयो।

जनताका पक्षमा आफूले सधैँ काम गरेकै परिणामस्वरूप मतदाताले आफूलाई गत निर्वाचनमा १२ हजार भन्दा बढी मतान्तरले विजयी बनाएको स्मरण गर्दै मन्त्री बस्नेतले सिन्धुपाल्चोक र मेलम्चीको विकासका लागि आफूले बाग्मती प्रदेशका मुख्य मन्त्री र मन्त्रीहरूसँग सहकार्य गरेर बढीभन्दा बढी योजना ल्याउन पहल गरेको बताउनुभयो ।

प्रधान सेनापति शर्माले नेपाली सेना नेपाली जनताको साझा सम्पत्ति भएको बताउँदै सेनाले सधैँ जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङले स्वास्थ्य मन्त्री बस्नेतको अथक प्रयास र दृढ सङ्कल्पका कारण मेलम्ची बेलीब्रिज समयमै सम्पन्न भएकोमा जोड दिँदै नेपाली सेनाको सहयोग स्मरणीय रहेको बताउनुभयो ।

कार्यक्रममा सिन्धुपाल्चोकका विभिन्न नगरपालिका, गाउँपालिकाका पदाधिकारी, सरकारी अधिकारी, राजनीतिक दलका नेता–कार्यकर्ता, नागरिक समाज र सर्वसाधारणको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button