बर्दघाट देशकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगर घोषणा

नवलपरासी । १६ वटा वडा रहेको पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकालाई आज नगर अन्तर्गतको देशकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका घोषणा गरिएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख आतिथ्यतामा सो घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री खनालले सबै सूचकहरू पूरा गरी घोषणा गर्नु मात्र नभै यसको दिगोपना र स्थायित्व चुनौतीको विषय रहेको बताउँदै यसका आधार र मापदण्डलाई निरन्तरता दिन सक्नु पर्नेमा जोड दिनु भयो ।स्वास्थ्य नागरिकको मौलिक अधिकार भएकाले ग्रामीण स्तरका तल्लो तहका विपन्न समुदायहरूमा विषय विशेषज्ञ सहितको स्वास्थ्य सेवाको पहुँच पुर्याउने अवधारणा सहित प्रदेश सरकार लागिरहेको उहाँले उल्लेख गर्नुभयो ।

“हरेक जिल्ला अस्पतालहरूमा विषय विशेषज्ञ सहितका चिकित्सक व्यवस्थापन गरिने छ, ग्रामीण दूर दराजमा समेत आवश्यक प्रोत्साहन गरि चिकित्सक पठाएर सबै नागरिकलाई स्वास्थ्योपचारको पहुँचमा पुर्याईने छ” मन्त्री खनालले भन्नुभयो ।लुम्बिनी प्रदेश अरू सूचकहरूमा माथि रहेपनी मातृ मृत्युदर बढ्दो रहेको बताउँदै यसको न्यूनीकरणका लागि आवश्यक कदम चालिने उल्लेख गर्नु भयो । मन्त्री खनालले प्रदेशका अस्पतालहरू रगतको निःशुल्क व्यवस्था मिलाइएको त्यसको खर्च प्रदेश सरकारले बेहोर्ने बताउनुभयो ।अस्पतालहरू मूलतः प्रविधिमैत्री र दस जनशक्ति युक्त हुनु पर्नेमा मन्त्री खनालको जोड रहेको थियो । जनताले प्रत्यक्ष रुपमा लाभ लिने गरी बजेट बिनियोजन भएको स्वास्थ्य मन्त्री खनालको दाबी थियो ।
नगरप्रमुख शम्भुलाल श्रेष्ठले केही वर्षभित्रमै सबै आधारभूत स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टरको स्थापना र नगरवासीलाई प्रभावकारी स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन सुविधा युक्त र प्रभावकारी बनाउँदै नगर मातहतका स्वास्थ्य सस्थाहरुमा सेवा बिस्तार गर्दै लगिने बताउनु भयो ।श्रेष्ठले नगर पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगर घोषणा हुनुमा स्वास्थ्यकर्मी,आम सेवाग्राही र महिला स्वास्थ्य स्वयंसेविका हरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नु भयी । कार्यक्रममा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान समेत गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्