तपाईँ सुन्दै हुनुहुन्छः

सबै सरकारी विज्ञापनलाई समानुपातिक रुपमा वितरण गर्नुपर्नेमा सरोकारवालाको जोड 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको स्वास्थ्य प्रतिकुल हुने विज्ञापन निरुत्साहित गर्नु पर्ने बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित राष्ट्रिय विज्ञापन नीतिको मस्यौदामाथि सरोकारवालासँगको छलफलमा मन्त्री शर्माले मानव स्वास्थ्यसँग सम्बन्धित विज्ञापनलाई कडा रुपमा नियमन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले मानव स्वास्थ्यसँग प्रतिकूल हुने विज्ञापनलाई निरुत्साहित गर्न यथेष्ट नीति लागू गर्नुका साथै त्यस्तो विज्ञापन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले अधिकांश ऐन, नियमावली , नीति र कार्यनीतिमा तादम्यता नमिलेको भन्दै  विज्ञापन  सम्बन्धी ऐन नियम, नीति र कार्यनीतिमा एकरूपता कायम गरी व्यवहारतः कार्यान्वयन गर्न निर्देशन दिनुभयो । 

छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले विज्ञापन बजारको दीर्घकालीन विकास, विस्तार र उन्नयनका लागि राष्ट्रिय विज्ञापन नीतिले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

छलफलमा सहभागीहरूले लोक कल्याणकारी विज्ञापन मात्र नभई सबै सरकारी विज्ञापनलाई समानुपातिक रुपमा वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धितालले विज्ञापन बजार निरन्तर ओरालो लागेको भन्दै सञ्चार गृहहरूलाई मर्ज गर्ने रणनीति अघि सार्नुपर्ने धारणा राख्नुभयो । 

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले मिडियाको वर्गीकरणलाई वस्तुनिष्ठ तुल्याई सबै सरकारी विज्ञापनलाई समानुपातिक रुपमा वितरण गर्नुपर्ने बताउनुभयो ।

उहाँहरूले सञ्चार माध्यामहरु खोल्ने वा मर्ज हुने विषय व्यक्ति वा संस्थाको भएकाले यसलाई अङ्कुश लगाउने गरी नीति ल्याउन नहुने धारणा राख्नुभयो ।

छलफलमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले विज्ञापनको बजार घट्नुको कारणबारे अध्ययन अनुसन्धान गरी विज्ञापन दाता, विज्ञापन एजेन्सी , मिडियाकर्मी र उपभोक्ता बीचको सौहार्दपूर्ण सम्बन्धले मात्र निकास दिने  बताउनुभयो ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले छलफलबाट प्राप्त सुझावका आधारमा नीतिलाई थप समृद्ध तुल्याइने बताउनुभयो । 

छलफलमा विज्ञापन उत्पादन, वितरण र प्रसारणसँग सम्बद्ध संघ संस्था, विज्ञापन एजेन्सी र सञ्चार संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button