तपाईँ सुन्दै हुनुहुन्छः

रासायनिक मल आपूर्ति गर्ने सम्बन्धमा अर्थ समितिमा छलफल

काठमाडौँ । कृषि तथा पुशपंक्षी विकास मन्त्री डा.वेदुराम भुषालले कृषि उत्पादन वृद्धि गर्न रासायनिक मलमा मात्रै निर्भर नभई प्राङ्गारिक मलको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । 

प्रतिनिधिसभाको अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री भुषालले रासायनिक मल मागअनुसार आपूर्ति गर्न नसक्दा किसानहरू मर्कामा परेको बताउनुभयो । 

मन्त्री भुषालले यस वर्ष ५० लाख मेट्रिक टनभन्दा बढी रासायनिक मल आपूर्ति गरिने जानकारी दिनुहुँदै अग्रिम बजेट व्यवस्थापन नभएका कारण मल आपूर्तिमा ढिलाइ भएको स्पष्ट पार्नुभयो ।

अगामी वर्षहरुमा किसानलाई रासायनिक मल समयमै उपलब्ध गराउन जी.टु.जी खरिद प्रक्रिया अघि बढाएको र खरिद ऐन र नियमावलीसमेत संशोधन गर्न लागिएको बैठकलाई मन्त्री भुषालले जानकारी गराउनुभयो । 

बैठकमा सांसदहरुले सरकारले वार्षिक क्यालेन्डर बनाएर मल खरिद प्रक्रिया सुरु गर्नुपर्ने, हाल स्टक गरेर राखिएको मल तत्काल वितरण गरिनुपर्ने, मल वितरण सहज रुपमा गरिनुपर्ने सुझाव दिनुभयो ।

सांसदहरुले नेपालमै रासायनिक मल कारखाना खोलिनुपर्ने र त्यसका लागि सांसद, सरकारी कर्मचारी, ठूला किसानहरूलाई एक महिनाको तलब बराबर लगानी गर्ने गरी नीति बनाउनुपर्नेमा जोड दिनुभयो । 

त्यसैगरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा अध्ययन भइरहेको र अझै यस अध्ययनका लागि ३ वर्ष समय लाग्ने बैठकमा जानकारी दिनुभयो । 

उहाँले हालसम्म रासायनिक कारखाना खोल्ने प्रस्ताव नआएको पनि बैठकमा जानकारी गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button