तपाईँ सुन्दै हुनुहुन्छः

समाज जागरूक बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले  नेपाली पत्रकारिताले समाजलाई जागरूक र रूपान्तरण गर्दै अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । 

‘संसदीय मामिला पत्रकार समाज’का नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण कार्यक्रममा सभामुख घिमिरेले  लोकतन्त्रको निर्दिष्ट उद्देश्य पूरा गर्ने क्रममा देखिएका कमजोरी हटाइ सबल बनाउन लाग्नुपर्ने धारणा राख्नुभयो ।

“संसद्लाई राष्ट्र हितमा  लैजान सञ्चार क्षेत्रको भूमिका छ, सञ्चारमाध्यमबाट यसमा गति र प्रभाव दिने काम भएको छ”, उहाँले भन्नुभयो ।

‘संसदीय मामिला पत्रकार समाज’को जिम्मेवारी पत्रकारिता भए पनि संसद्को परिवार पनि भएको भन्दै उहाँले प्रतिस्पर्धाका आधारमा नयाँ कार्यसमिति चयन भएकोमा बधाई ज्ञापन गर्नुभयो । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्का गतिविधिलाई सिधैँ जनता समक्ष पु¥याउने काममा संलग्न समाजका पदाधिकारी संसद्का ऐनाका रुपमा रहेको बताउनुभयो । 

“संसद् होस वा समाजका समाचार बिना कुनै आग्रह र पूर्वाग्रहमा सम्प्रेषण हुनुपर्छ, समाजमा देखिएका कमी कमजोरीलाई उजागर गर्नुपर्छ”, उहाँले भन्नुभयो, “समाजलाई संसद्को सबैखाले सहयोग उपलब्ध हुनेछ ।”

देशको विकास, समृद्धि गर्दै सुशासन कायम गर्नमा सबैको दायित्व भएको उहाँको भनाइ छ । उहाँले स्वच्छ र स्वतन्त्र वातावरणमा निर्वाचनको अभ्यास आजको आवश्यकता भएको धारणा राख्नुभयो । 

संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले समाजले उठाउँदै आएको ‘लवी रिपोटिङ’का लागि गृहकार्य भइरहेको तथा संसद् र संसदीय गतिविधिका सुधारका लागि हुने आलोचनात्मक टिप्पणीलाई स्वागत गरिने बताउनुभयो । 

समाजको आठौँ अधिवेशन निर्वाचन समितिका संयोजक टङ्क पन्तले प्रतिस्पर्धाकाबीच एकताको भावनाले स्वच्छ निर्वाचन भई नेतृत्व हस्तान्तरण भएको बताउनुभयो । 

 समाजका निवर्तमान अध्यक्ष सञ्जीव बगाले र नवनिर्वाचित अध्यक्ष मनोज सत्यालले अघिल्लो कार्यसमितिबाट भएका असल अभ्यासलाई ग्रहण गर्दै अनुसन्धान र समाजलाई समावेशी तुल्याउने कार्यमा ध्यान पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो । संसदीय गतिविधिसम्बन्धी समाचारलाई मुख्य ‘विट’ बनाएर काम गर्ने पत्रकारको साझा संस्थाका रुपमा मामिला रही आएको छ । 

दैनिक रिपोटिङका सन्दर्भमा आइपर्ने समस्या समाधानका लागि समाजले सचिवालयसँग सम्पर्क र समन्वय गर्दै आएको छ । यही असार १६ गते सम्पन्न निर्वाचनबाट पत्रकार सत्यालको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमितिको चयन भएको हो । समाजमा हाल एक सय ४५ सदस्य रहनुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button