नेपालले अन्तिम खेल टेस्ट टोली आयरल्यान्डसँग खेल्ने
काठमाडौँ । नेपालले आइसीसी विश्वकप छनोट अन्तर्गत आफ्नो अन्तिम खेल टेस्ट टोली आयरल्यान्डसँग खेल्ने भएको छ ।
नेपाल र आयरल्यान्डबिचको खेल मङ्गलवार हुनेछ । हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट सुरु हुनेछ ।
नेपालले आयरल्यान्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो अवसर हो । आयरल्यान्ड नेपालले ओडिआई खेल्न लागेको तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक हो ।
नेपालले सातौँ स्थानको लागि भएको दोस्रो सेमिफाइनल खेलमा आइतबार युएइलाई हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको हो ।
नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जितसहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई हराएको थियो । जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग पराजित भएपछि सुपर सिक्समा पुग्न सकेको थिएन ।
उता, आयरल्यान्ड पनि ४ खेलमा ३ मा हार र १ मा जितसहित चौथो स्थानमा रहेर समूह बी बाट सुपर सिक्स पुग्न सकेको थिएन । आयरल्यान्ड समूह चरणमा ओमान, स्कटल्यान्ड र श्रीलङ्कासँग पराजित भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्