भोजपुरका कृषकमा सुन्तला मोह, धान खेत मासेर खेती गर्दै

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर सुन्तला खेतीका लागि राम्रो सम्भाव्यता भएको जिल्ला हो । यहाँ अहिले धान खेत मासेर सुन्तला खेती गर्ने कृषकहरूको संख्यामासमेत वृद्धि हुँदै गएको छ ।
भोजपुरमा उत्पादन भएको सुन्तला जिल्लामा सडक सञ्जालको पहुँच पुगेसँगै जिल्ला भित्र मात्र होइन तराईका जिल्लाहरूमा समेत बिक्रीका लागि जाने गरेको छ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लाको अरुण गाउँपालिका वडा नं १ याङपाङ, षडानन्द नगरपालिकाको वडा नं २, १०, र ११ को कुदाकाउले, साङपाङ, देउराली, भोजपुर नगरपालिका वडा नं ३ र ४ को दाँवा, टेम्केमैयुङ गाउँपालिकाको वडा नं २, ३, ७ र ८ को छिनामखु, अन्नपूर्ण, कोट, गोगने सुन्तला उत्पादनको लागि पकेट क्षेत्र हुन ।
सुन्तलाको राम्रो सम्भावना भएकाले आफु अहिले ब्यवसायीक सुन्तला खेतीमा लागेको भोजपुर नगरपालिका वडा नम्बर ३ गुप्तेश्वरका कृषक हरिप्रसाद प्रधानले बताउनुभयो । कृषक प्रधान अहिले सुन्तलामा मलजल, काटछाड, गोडमेल र थप बिरुवा लगाउन मै व्यस्त देखिनु हुन्छ । अहिले दिनभरी सुन्तलाको बगानमै समय बिताउनु भएका कृषक प्रधान सुन्तलाबाट राम्रो आम्दानी पाउने आशामा ब्यवसायीक बन्नु भएको छ । प्रधानले हालसम्म ४० रोपनी जग्गामा सुन्तला लगाउनु भएको छ ।

भोजपुर र संखुवाभामा गरी दुई स्थानमा सुन्तला जोन कार्यक्रम सञ्चालन हुँदै आएकाले पनि कृषकहरूलाई सुन्तला खेतीमा लाग्नका लागि हौसला मिलेको छ । कार्यक्रम अन्तर्गत दुई जिल्ला भएका पुराना सुन्तला बगैचाहरुको व्यवस्थापन तथा नयाँ बिरुवा रोपन, सिँचाइ पुर्वधार निर्माण, उन्नत जातको सुन्तलाका बिरुवाहरू अनुदानमा वितरण र सुन्तला किसानहरूलाई सिप सिकाइने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई भोजपुरका प्रमुख नवराज गुरुङले जानकारी दिनु भयो । प्रमुख गुरुङका अनुसार भोजपुर नगरपालिका वडा नंं. ३ मा २० रोपनी जग्गामा सिकाई केन्द्र स्थापना कार्यक्रम अन्तर्गत चार सय ५० बिरुवा रोप्ने कार्य गरिएको छ ।
गत वर्षबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बगैचा व्यवस्थापन, मल्चिङ, विषादी प्रयोग गर्ने तरिका र कुन समयमा खेती गर्ने भन्ने विषयमा प्राविधिक सिप समेत दिन थालेपछि कृषकहरूमा सुन्तला खेती तर्फ मोह बढेको हो । सुन्तलाको बिरुवामा केही रोग लाग्न नदिन सिकाई केन्द्रमा रोपेका प्रत्येक बिरुवामा नेट जाली लगाइएको परियोजनाले जनाएको छ । बिरुवाको सुरक्षाका लागि दुई वर्षसम्म जाली निरन्तर लगाइने छ ।
बिरुवा रोप्दादेखि नै मल्चिङ गरेर बिरुवामा गाईबस्तुको मलसँगै अन्य आवश्यक तत्त्वहरू मिलाएर एकिकृत रुपमा बिरुवामा लगाउने गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई भोजपुरका प्राविधिक जुनीता बलिङ राईले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भोजपुर नगरपालिका वडा नं. ३,४, टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ३ र ७ वडामा सुन्तला जोन कार्यक्रम सञ्चालनमा रहेको राईले जानकारी दिनुभयो ।
बगैँचाबाट नै सुन्तलाको बिक्री र ढुवानी हुने भएकाले बजारीकरणमा पनि समस्या नहुने व्यवसायी कृषकहरूको भनाई रहेको छ । भोजपुरमा नौ सय हेक्टमा सुन्तला खेती गरिएको छ भने छ सय ८० हेक्टरमा उत्पादन हुँदै आएको छ । जिल्लाबाट वार्षिक ३२ करोड बराबरको सुन्तला बाहिर निर्यात हुने गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्