तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटनको विकास गरेर आर्थिकरुपमा सक्षम बन्न सकिन्छ : मन्त्री किराती

भोजपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको योजनाबद्ध विकास गरेर देशलाई आर्थिक रुपमा सक्षम बनाउन सकिने बताउनुभएको छ । 

उहाँले सञ्चालन गर्नुभएको ‘हाम्रो सम्पदा राम्रो सम्पदा’ अभियानअन्तर्गत गृह जिल्ला भोजपुरमा आयोजना गरिएको सरसफाइ अभियान कार्यक्रमलाई सम्बोधन गर्दै नागरिकले आफ्नो क्षेत्रको विकासमा आफैँले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

पर्यटकहरूलाई आकर्षित गर्नका लागि आफ्नो संस्कार, संस्कृति तथा आचरण र वातावरणमा सुधार गर्नुपर्ने उहाँको भनाइ छ । पर्यटकीय क्षेत्रलाई सफा, सुन्दर र हराभरा बनाउन नागरिक स्तरबाट अगुवाइ गर्नुपर्नेमा उहाँको जोड थियो ।

“पर्यटनको विकासका लागि हाम्रो संस्कार र संस्कृतिको जगेर्नासँगै आफ्नो ठाउँलाई सफा सुन्दर र हरभरा बनाउन आवश्यक छ”, मन्त्री किरातीले भन्नुभयो, “हाम्रो सुन्दर देशलाई अझ सुन्दर बनाउने हाम्रो दायित्व हो, आफ्नो ठाउँको विकासका लागि हामीले हप्तामा दुई घण्टा समय दिन सक्यौँ भने त्यसले देश निर्माणमा पनि योगदान पुग्छ ।” आफ्नो ठाउँमा पर्यटकलाई बसौँ बसौँ लाग्ने बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । 

आफ्नो घर अगाडि फोहर होइन फूल भन्ने अभियान सञ्चालन गर्नुपर्ने मन्त्री किरातीले बताउनुभयो । यसका लागि नागरिकले हप्तामा दुई घण्टा श्रमदान गर्ने बानी बसाल्नुपर्ने  उहाँको भनाइ छ । उहाँको अगुवाइमा जिल्ला अस्पतालसँगै बजार क्षेत्रको सरसफाइ गरिएको छ । 

सचेतनाका रुपमा सरसफाइ गरिएको भए पनि यसको निरन्तरताका लागि नागरिक आफैँ सचेत बन्नुपर्ने भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले बताउनुभयो । “मन्त्रीको उपस्थितिमा बजार क्षेत्रको सरसफाइ गरेका छौँ”, उहाँले भन्नुभयो, “तर एक दिन मन्त्री, नगर प्रमुखले सरसफाइ गरेर मात्र हुन्न, यसको निरन्तरताका लागि नागरिक सजक बन्न आवश्यक छ ।”

बजार क्षेत्रको सरसफाइका लागि नागरिक स्तरबाट अगुवाइ हुनुपर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले बताउनुभयो । कार्यालयले सरसफाइका लागि आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । बजार क्षेत्रलाई सफा, सुन्दर र हराभरा बनाउन योजनाबद्धरुपमा सरसफाइका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाइ छ । नागरिकले हप्तामा एक दिन श्रमदानको अभियान सञ्चालन गर्नुपर्ने प्रमुख सिंहले बताउनुभयो । 

एक दिन मात्र नभएर सरसफाइ अभियानलाई निरन्तरता दिन सबै अग्रसर हुनुपर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो । यस्ता सन्देशमूलक कार्यक्रमले नागरिकको चेतना स्तरमा सुधार आउने उहाँको भनाइ थियो ।  

कार्यक्रममा जिल्लाका सरकारी कार्यालय, सुरक्षा निकाय तथा विभिन्न सङ्घ संस्थाको सहभागिता रहेको थियो । मन्त्री किरातीले जिल्ला अस्पतालको बिरामी कुरुवा घरको अनुगमन तथा परिसरमा वृक्षारोपण समेत गर्नुभएको थियो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button