यस बर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार डा.शेर्पा र मगरलाई प्रदान गरिने

काठमाडौँ । मदन भण्डारी फाउन्डेशनले यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट दुई जनालाई पुरस्कृत गर्ने भएको छ।
फाउन्डेशनले आज पत्रकार सम्मेलन गरी जननेता भण्डारीको जन्म जयन्तीका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट यस वर्ष सोलुदूधकुण्ड नगरपालिका-४, फाप्लु, सोलुखुम्बु निवासी डा.मिङमार गेल्जेन शेर्पालाई र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारबाट हेटौँडा उपमहानगरपालिका-४ प्रतिभानगर, मकवानपुर निवासी निरुकुमारी मगरलाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिएको हो ।
फाउन्डेशनले समाजमा सिर्जनात्मक काम गरी अरूलाई उत्प्रेरित गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कार प्रदान गर्दै आएको छ ।
फाउण्डेशनले भण्डारीको ७२औँ जन्म जयन्तीको अवसरमा आगामी बिहीबार असार १४ गते राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग काठमाडौँमा कार्यक्रम गरी उक्त पुरस्कार वितरण गर्ने जनाएको छ । पुरस्कारको राशि जनही एक लाख नगदसहित सम्मान पत्र रहेको छ ।
वि.सं.२००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिनुभएका जननेता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा कार दुर्घटनामा निधन भएको थियो । मदन भण्डारीको जन्म जयन्ती असार १४ गतेको अवसरमा फाउन्डेशनले कार्यक्रम गर्दै आइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्