तपाईँ सुन्दै हुनुहुन्छः

लोकसेवाको पाठ्यक्रमलाई परिमार्जन गर्न जरुरी छ : अध्यक्ष रेग्मी 

काठमाडौँ । लोकसेवा आयोगले निजामती लगायतका सरकारी सेवा प्रवेशका लागि लिइने परीक्षालाई समयानुकूल बनाउन पाठ्यक्रमलाई परिमार्जन गर्नुपर्ने    जनाएको छ । 

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज सिंहदरबारमा बसेको  बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले संघीय निजामती ऐन जारी हुन नसक्दा पुरानै पद्धतिमा परीक्षा सञ्चालन गर्नुपरेको बताउँदै सङ्गठित संस्थाहरूको पदपूर्ति गर्न एकीकृत परीक्षा प्रणाली लागु गर्ने विषयमा पनि आयोगले अध्ययन गरिरहेको बताउनुभयो  । 

बैठकमा अध्यक्ष रेग्मीले लोकसेवा आयोगमाथि आम जनमानसको विश्वास कायम राख्ने गरी काम गरिरहेको बताउँदै समावेशी सिद्धान्तकै आधारमा  उम्मेदवार सिफारिस गरिएको बताउनुभयो । 

बैठकमा सांसदहरुले लोक सेवा आयोगको अन्तर्वार्ता निष्पक्ष नभएको, समयमा परीक्षा नहुँदा अध्ययन गरिरहेका विद्यार्थीहरू अन्यौलमा पर्ने गरेको भन्दै वार्षिक तालिका अनुसार नै परीक्षा सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

सांसदहरुले लोकसेवाको प्रश्नपत्र निर्माण गर्दा वर्ग विशेषलाई मात्रै प्राथमिकता दिएको भन्दै वस्तुगत प्रश्नलाई ध्यान दिन आयोगलाई आग्रह गर्नुभयो  । 

आयोगका अनुसार आर्थिक वर्ष २०६३/०६४ देखि हालसम्म लोक सेवा आयोगबाट प्रकाशित समावेशी विज्ञापनबाट  कूल २२ हजार ६ सय ९२ जना उम्मेदवार सिफारिस भएका छन् ।  

जसमा महिला ७ हजार ७ सय ५९ जना, आदिवासीतर्फ ६ हजार ७४ जना मधेशी ४ हजार ९ सय ३८ जना रहेका छन् । 

त्यस्तै दलिततर्फ २ हजार ५३ र अपाङ्गबाट एक हजार ५४ जना नियुक्तिका लागि सिफारिस भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button