तपाईँ सुन्दै हुनुहुन्छः

उपचारको पैसा तिर्न नसकेपछि बागलुङ बडिगाडका सार्की ३ महिनादेखि अस्पतालमा बन्दी

ताराखोला बागलुङ । बडिगाड गाउँपालिका वडा न ९ का सन्ते सार्की अहिले मृत्युसँग लडिरहनुभएको छ ।

सार्कीको कालो दिन मिति २०७९ साल मङ्सिर २३ गतेबाट सुरु भएको हो   बाख्रालाई घाँस काट्न जाँदा ढिस्कोबाट लडी उहाँको छाडीको गर्धन भाँचिएको थियो । गर्धन भाँचिए लगत्तै उहाँलाई उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । 

केही महिना उहाँको त्यहाँ उपचार भयो तर शरीरको तल्लो भाग नचलेपछि उहाँ ओछ्यानमै मात्र सुतिराख्नुपर्ने भयो । ओछ्यानमा बढी सुत्दासुत्दै मलद्वार माथिल्लो भागमा घाउ भयो ।  घाउ केही बढ्दै गएपछि उहाँमा थप समस्या आइलाग्यो  । अस्पतालले गाउँमा गएर कुनै मेडिकलमा सामान्य उपचार गराए ठिक हुने सुझाव दियो । 

उहाँ अस्पतालबाट बडिगाड फर्किनुभयो ।   स्थानीय मेडिकलमा लगेर घाउको उपचार गराएपछि ८ ÷९ दिनमा सार्कीलाई झन समस्या भयो । घाउ अप्रत्याशित रुपमा ठूलो हुँदै गयो । उहाँको  श्वासप्रश्वासमा पनि समस्या भयो । पुन उहाँलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगियो । सार्कीलाई ११ दिनसम्म आइसियुमा राखेर उपचार गरियो ।

आइसियुबाट निकाली सामान्य वार्डमा सारियो । उहाँलाई  छाला सम्बन्धि डाक्टरबाट उपचार गराइयो । घाउको मासु बिग्रेको भन्दै मलद्वारको घाउको मासु काटियो । त्यसपछि अस्पतालले अब यहाँ हुन सक्दैन भन्दै अस्पतालबाट डिस्चार्ज हुन ताकेता गरिरहेको सार्कीले बताउनुभयो । 

गर्धनको उपचारका लागि १२ देखि १३ लाख खर्च गरेको र अहिले हातमुख जोड्दै पैसा पनि नभएको उहाँको गुनासो छ  । उहाँको पैसाको अभावमा झन कष्टकर रुपमा समय कटिरहेको छ । 

“न उपचार नै सफल भयो, न खाना खाएको पैसा नै तिर्न सकेको छु । अस्पतालले रु.३ लाख बुझाउन भनेको छ । होटलमा १ लाख ५० हजार तिर्न बाँकी छ । तर अब पैसा आउने ठाउँ छैन। ” । सार्कीले भन्नुभयो ।

“९ महिना उपचार गरेपनि अहिले डाक्टरहरूले उपचार सफल नहुने र अन्त कतै जानु भनेका छन्। पैसा नतिरेसम्म अस्पतालबाट निस्कन पनि दिँदैन ।” सार्कीले रुँदै भन्नुभयो । 

सामान्य परिवारका सार्कीलाई उपचारका लागि गाउँघरमा सहयोग पनि उठाएर केही रकम जम्मा पारी सहयोग गरिएको थियो । दुई जटा छोरा अहिले अस्पतालबाट बुबालाई निकाल्न सकिन्छ की भनेर काम खोज्दै डिल्ली गएको उहाँले बताउनुभयो ।  “अरू उपाय केही भएन । छोराहरूले नोकरी गरेर १०÷२० हजार पठाउँछौँ भन्दै इन्डिया गएका छन्।”, उहाँले भन्नुभयो । 

घाउ हेर्न सकिने अवस्थाको छैन । निकै बिग्रेको छ । पैसा सकिएपछि अस्पतालले उपचार नगरी निस्कन भन्नु, पैसा तिर्न नसकेपछि अस्पताल मै बन्दी जस्तो बन्नु दुखद भएको दलित अभियन्ता रोशन विश्वकर्माले जानकारी दिनुभयो । 

“स्वस्थ भएर घर जान मन थियो तर त्यो त भएन भएन  मृत्यु बोकेर घर जानलाई पनि अस्पतालमा तिर्नको लागि तीन लाख र होटलमा तिर्नका लागि १ लाख ५० हजार पैसा छैन । मत अस्पतालमा पनि पनि  कैदी जीवन बाँचेको छु । खै मलाई यहाँबाट पार लगाउने को होला ?।” सार्कीले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button