यस्तो छ, कञ्चनपुरका नौ वटै स्थानीय तहहरूको आर्थिक वर्षका लागि ल्याएको बजेट
कञ्चनपुर । कञ्चनपुरका नौ वटै स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । कञ्चनपुरको सबैभन्दा पुरानो पालिका भीमदत्त नगरपालिकाले १ अर्ब ८१ करोड ३५ लाख ८१ हजार बराबरको बजेट नगर सभामा प्रस्तुत गरेको छ ।
वेदकोट नगरपालिकाले ९२ करोड २० लाख ५० हजार, कृष्णपुर नगरपालिकाले ८९ करोड ६७ लाख, बेलौरी नगरपालिकाले ८६ करोड ५७ लाख ६७ हजार, दोधाराचाँदनी नगरपालिकाले ६९ करोड ३५ लाख ५६ हजार, बेलडाँडी गाउँपालिकाले ४६ करोड ९५ लाख ७७ हजार ८२३ र लालझाडी गाउँपालिकाले ४६ करोड ४४ लाख ४९ हजार ८०० बराबरको बजेट आइतबार नगर सभा तथा बजेट अधिवेशनमा प्रस्तुत गरेका छन् ।
यसअघि असार ७ गते शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८८ करोड ७ लाख ९६ हजार २ सय र असार ८ गते पुनर्वास नगरपालिकाले ७७ करोड ८१ लाख ६४ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो । यी सबै स्थानीय तहहरूको बजेट गत वर्षको भन्दा कम हो ।
सात वटा नगरपालिका र दुई वटा गाउँपालिका रहेको कञ्चनपुरका सबै स्थानीय तहहरूले शिक्षा, स्वास्थ्य, कृषि तथा स्वरोजगार मूलक कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको जनाएका छन् । चुरे क्षेत्रसँग जोडिएका स्थानीय तहहरूले नदीजन्य पदार्थहरूको उत्खनन र बेचबिखनलाई मुख्य आयस्रोतका रूपमा लिएका छन् । कञ्चनपुरका स्थानीय तहहरू पनि सङ्घ र प्रदेशबाट उपलब्ध हुने अनुदानमै निर्भर रहेको देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्