४ बुँदे सहमतिपछि वीरगञ्जका ट्रान्सपोर्ट भोलिबाट सुचारु हुने
वीरगञ्ज । वीरगञ्जका ट्रान्सपोर्ट व्यवसायीहरूले उठाउँदै आएको मागका सम्बन्धमा स्थानीय प्रहरी प्रशासन र राजस्व अनुसन्धानबिच ४ बुँदे सहमति भएपछि अनिश्चितकालका लागि बन्द भएको वीरगञ्जका ट्रान्सपोर्टहरु भोलीबाट सुचारु हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आज साँझ भएको वार्तामा राजस्व अनुसन्धान कार्यालय पर्सा प्रहरी, ढुवानी व्यवसायीबिच समग्र रुपमा ढुवानी व्यवसायलाई गलत नियतले हेर्न नहुने र गलत गर्नेलाई निगरानीमा राखी कारबाही गर्ने विषयमा त्रिपक्षीय सहमति भएपछि वीरगञ्जमा ४ दिन देखि अनिश्चितकालका लागि बन्द भएको ढुवानी भोलिबाट सुचारु हुने सहमति भएको ट्रान्सपोर्ट एसोसिएसन पर्साका सचिव नवराज अधिकारीले जानकारी दिनुभयो ।
पछिल्लो समय ढुवानी सेवामा प्रहरी प्रशासन र राजश्व अनुसन्धान विभागले राजस्व छलीको अभियोगमा अनाहकमा दुःख दिन थालेको भन्दै सोको विरोधमा वीरगञ्जका ट्रान्सपोर्ट व्यवसायीहरूले आफ्नो कारोबार अनिश्चित कालको लागि बन्द गरी धर्नामा उत्रिएका थिए ।
व्यवसायीहरूले मङ्गलवार आफ्नो कार्यालयको ताला चाबी समेत जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई बझाइएका थिए । वीरगञ्जका ७० जना ट्रान्सपोर्ट व्यवसायीहरूको तालाचाबी प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ट्रान्सपोर्टको ताला चाबी आज सहमति भएसँगै प्रमुख जिल्ला अधिकारीसँग फिर्ता लिएका छन् ।
वार्ता सौहार्दपूर्ण रुपमा सम्पन्न भएको र ढुवानी सेवा भोलिबाट सुचारु हुने पर्सा प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।
मुलुकमै ‘ट्रान्सपोर्ट हब’को रुपमा रहेको आर्थिक तथा व्यापारिक वीरगन्जमा ६ दर्जन भन्दा बढी व्यवसायी ढुवानी सेवामा आबद्ध रहेका छन् । वीरगन्जका दुई वटा भन्सार र औद्योगिक क्षेत्र बाहेक ट्रान्सपोर्ट एसोसिएसनमा आबद्ध व्यवसायीहरूले दैनिक सयौँ ट्रक सामान मुलुकको विभिन्न क्षेत्रमा ढुवानी गर्दै आएका छन् ।








प्रतिक्रिया राख्नुहोस्