तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल कुबेतसँग पराजित

काठमाडाैं । दक्षिण एशियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता १४औँ पुरुष साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।

भारतको काँतीराव स्टेडियममा आज भएको उद्घाटन खेलमा नेपाल कुवेतसँग १–३ गोल अन्तरले पराजित भएको हो । कुवेतको जितमा कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक–एक गोल गरे ।

यता नेपालका लागि भने अन्जन विष्टले एक गोल फर्काए । खेलको २३औँ मिनेटमा कप्तान खालिदले हेडरमार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ४२औँ मिनेटमा शाबैबले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए । खेलको ६५औँ मिनेटमा मोहमदले पेनाल्टीमार्फत गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए । नेपालका डिफेन्डर अनन्त तामाङले पेनाल्टी बक्सभित्र ह्याण्डबल गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको हो ।

त्यसपछि खेलको ६८औँ मिनेटमा नेपालका खेलाडी अन्जनले गोल गरे पनि नेपाल पराजित भयो । यस जितसँगै कुवेतले ३ अङ्क जोडेको छ ।

साफ च्याम्पियनसिपमा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ । जसमा नेपालसहित आयोजक भारत, बङ्गलादेश, कुवेत, लेबनान, भूटान, पाकिस्तान र माल्दिभ्स छन् । अब नेपालले दोस्रो खेल शनिबार आयोजक भारतसँग खेल्नेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button